आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

डाक्टरलाई सौर्यका पाइलटले सुनाए: सय फिटमाथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ


  • समाचार कुञ्ज
  • २०८१ श्रावण १०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • काठमाडौँ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी छन् ।

    क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा. थापाको भनाइ छ । ‘आँखा, नाक र टाउकोमा लागेका चोटको बुधबार नै उपचार गरिसकिएको छ,’ उनले भनिन् ।

    दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले बिहीबार दिउँसो विज्ञप्ति निकालेरै जानकारी गराएको छ । घाइते क्याप्टेन शाक्यको बुधबारदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। क्याप्टेन शाक्यले डा. थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०-१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्‍यको भनाइ छ ।

    बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए। अस्पतालकी निर्देशक डा.थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै जानकारी दिएकी छन् । ‘जहाज उडाउन कोसिस गर्दै थिएँ, ५०-१०० फिट माथि गएको थियो। त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा. थापाले भनिन्, ‘छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता-कताबाट बाहिर निस्किएँ।’

    शाक्यलाई आइसियूमा राखेर उपचार गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट