
समाचार कुञ्ज पुस २९ अन्जान परियार, घिरिङ।
घिरिङ गाउँपालिकाको अन्तर बिधालय स्तरीय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बाट चन्द्रज्योती माध्यमिक बिधालयले उपाधी जितेको छ। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सो कार्यक्रम पुस २५ देखि २६ सम्म वडा नं ४ गडौलिटार स्थित महेन्द्र माध्यमिक बिधालय प्राङ्गणमा एथलेटिक्स सम्बन्धी खेल भएको थियो। बाँकी रहेको भलिबल खेल २७ देखि २९ गते सम्म वडा नं ३ पोखरिछाप स्थित खेल मैदानमा भएको थियो। 
उक्त खेलकुद प्रतियोगितामा १४ बिधाको खेल संचालन भएको थियो भने छात्र र छात्रा गरि २८ खेल संचालन भएको हो। गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालय सहभागी रहेकोमा चन्द्रज्योतीले १७ स्वर्ण ३ रजत १ कास्य गरि २१ पदक सहित प्रथम भएको हो। यसैगरि महेन्द्र ज्योती माबीले ४ स्वर्ण ५ रजत ९ कास्य सहित द्वितीय भएको छ भने दिपक माबि ३ स्वर्ण २ रजत ५ कास्य सहित तृतीय भएको हो।
यस्तै कृष्ण माबि २ स्वर्ण १० रजत ६ कास्य, सरस्वती माबि १ स्वर्ण ४ रजत १ कास्य, कामधेनु माबि १ स्वर्ण ३ रजत ३ कास्य र राष्ट्रिय माबीले १ रजत ३ कास्य प्राप्त गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद सुबेदीले जानकारी दिए।
बिजेता हुने चन्द्रज्योती माबीलाई ३० हजार, उपबिजेता लाई २० हजार र तिर्तिय लाई १० हजार नगद सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ। 
घिरिङ गाउँपालिका – ३ का वडा अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा सोमबार गाउँपालिका खेल मैदानमा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापाले पुरस्कार प्रदान गरेका हुन। अध्यक्ष थापाले सो कार्यक्रमको अबसरमा खेलकुद मैदान नहुँदा दुख ब्यहोर्नु परेकोले गाउँसभा बाट बजेट बिनियोजन गरिएको बताए। सबैको चासोको बिषय बनेको कृष्ण मोटरमार्ग निर्माणको लागि स्थानीय तहले मात्र नभई संघीय र प्रदेश सरकारको ध्यानाकर्षण हुनु पर्ने बताए। गाउँपालिका बाट बिनियोजन गरेको पाँच करोडको काम छिट्टै हुने थापाको भनाई छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा २ का अध्यक्ष नर बहादुर थापा, एमाले घिरिङका अध्यक्ष सुमन कुमार श्रेष्ठले मन्तव्य राखेका थिए। शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुबेदीले संचालन गरेको कार्यक्रममा चन्द्रज्योती माबिका प्रधानाध्यापक प्रेम थापाले थापाले स्वागत मन्तब्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस