
समाचार कुञ्ज नवलपुर । माघे संक्रान्तीको अवसरमा मंगलबार नवलपुरको कावासोती नगरपालिका-१२, स्थित गैरीमा प्रथम पिठौली मकर संक्रान्ती धार्मिक कार्यक्रम एवं मिनि मेला -२०८१ भएको छ ।
पिठौली चौर युवा समिती र प्रगतिशील युवा क्लबको संयुक्त आयोजना तथा कावासोती नगरपालिका वडा नं ११,१२ र १३ को संरक्षण तथा स्थानीय विभिन्न मठमन्दिर , सामुदायिक वनको समन्वयमा उक्त मेला लागेको हो । 
उक्त अवसरमा बिहानैदेखि नारायणी नदीमा स्नान, मन्दिरमा पुजा पाठ गर्ने श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो।
“धर्म, कला र संस्कृति , पिठौलीको पहिचान” भन्ने मूल नाराका साथ पिठौलीलाई धार्मिक तथा पर्यट्कीय क्षेत्रको रुपमा बिकास गराउने उदेश्यले प्रथम पिठौली मकर सक्रान्ती धार्मिक कार्यक्रम एवं मिनि मेला संचालन गरिएको पिठौली चौर युवा समितीका अध्यक्ष सागर गुरुङले बताउनुभयो ।
मेलामा आउने भक्तजनका लागि लोकाहा चोक र कावासोती फलफुल चोक देखि पिठौली मेला लाग्ने चौर सम्म निशुल्क बस सेवा, तातो पानी र चियाको व्यवस्थापन, भजन किर्तन एवं नृत्य, नि:शुल्क प्राथमिक स्वास्थ्य उपचार र रगत समुह परिक्षण, विविध खेलकुद कार्यक्रम, स्थानिय स्थरमा उत्पादन भएको चिजबस्तुहरु खरिदबिक्री र प्रदर्शनीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताउनुभयाे ।
आगामी बर्षहरुमा माघे संक्रान्ती मेलालाई थप व्यवस्थित र परिस्कृत ढङ्गले संचालन गरिने योजना रहेको अध्यक्ष गुरुङको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस