
समाचार कुञ्ज पाल्पा – सडकमा सवारी रोकी धाकधम्की दिएर रकम असुल्न खोज्ने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका युवा रामपुर–५, का २५ वर्षीय आदेश राना र सोही स्थानका २५ वर्षीय धनबहादुर दर्लामी रहेका छन् ।
जर्सी गाई लिएर बुधबार राति १ बजेतिर पाल्पाको रामपुर कालीगण्डकी कोरिडोर हुँदै स्याङ्जा साँखर जाँदै गरेको लु ३ च ७२६१ नम्बरको पिकअप जिपलाई रोकर दुई युवाले पैसा मागेका थिए । पैसा नदिएपछि उनीहरूले धाकधम्की दिएको र कुटपिट गर्न खोजेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पीडितको उजुरीको आधारमा पक्राउ गरिएको र आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । उक्त पिकअपले घरमा पाल्नको लागि जर्सी गाई ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस