आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

अन्नपूर्णको बजेट पर्यटन र कृषि क्षेत्रलाई पनि प्राथमिकता दिँदै


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १२, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • १० पाठक संख्या
  • पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

    मंगलबार १८ औं गाउँसभामा पालिका उपाध्यक्ष चन्द्रकला अधिकारीद्वारा प्रस्तुत उक्त बजेट मानव विकासमा केन्द्रित छ । बजेटमा २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ ।

    पर्यटन र कृषि क्षेत्रलाई पनि प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको छ । आगामी वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न दुध, चल्ला र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिएको उपाध्यक्ष अधिकारीले बताइन् ।

    पर्यटन प्रवद्र्धनका लागि होमस्टे व्यवस्थापन र सञ्चालनमा बजेट विनियोजन गरिएको छ भने अन्नपूर्ण हाट बजार तथा व्यापार मेला सञ्चालनका लागि ३ लाख छुट्याइएको छ । पालिकाले स्थानीय सांस्कृतिक कार्यक्रम, पर्व तथा महोत्सवहरु ढिकुरपोखरीमा तीज मेला, भदौरे कोदो महोत्सव, अन्नपूर्ण म्याराथन घान्द्रुक, हनी हन्टिङ प्रतियोगिता, फागु महोत्सव, शीतल गुफा महोत्सव आदिलाई समेत बजेट बिनियोजन गरेको छ ।

    गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ६० लाख, सडक, चक्रपथ तथा अन्य सडक पूर्वाधारमा ११ करोड १८ लाख ७२ हजार, वडा कार्यालय र स्वास्थ्य भवन निर्माणमा ७७ लाख, झोलुङ्गे पुलको दायित्व भुक्तानीमा ५० लाख विनियोजन गरिएको छ ।

    यसैगरी, आधारभूत अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १२ लाख, स्वास्थ्य विमा प्रिमियम वृद्धिसहित ८७ लाख, घान्द्रुक स्वास्थ्य चौकीमा ल्याब स्थापना, आयुर्वेद सेवा र योग अभ्यासका लागि बजेट व्यवस्था गरिएको छ ।

    महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपांगता भएकाहरुका लागि ३७ लाख, ज्येष्ठ नागरिक तीर्थ भ्रमणका लागि ४ लाख, स्वच्छ खानेपानी कार्यक्रमका लागि ३० लाख र विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट छुट्याइएको छ ।

    फोहोरमैला प्रशोधन केन्द्र स्थापना, मेलमिलाप केन्द्र सञ्चालन, कानूनी सचेतना, सामाजिक विकृति उन्मूलन, युवा परिचालन, प्राविधिक शिक्षा छात्रवृतिलगायतमा समेत बजेट छ । गाउँपालिका तथा वडाहरुको प्रशासनिक र चालु खर्चका लागि ९ करोड ३० लाख विनियोजन गरिएको छ ।

    गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले मानव विकासलाई ध्यान दिई यसपटक बजेट ल्याएको दाबी गर्दै सोको कार्यान्वयनमा ध्यान दिने बताए । ‘अन्नपूर्ण आधार शिविर पुग्ने हेलिकप्टरबाट पालिकालाई पैसा आउने भएको छ, बिस्तारै लघुजलविद्युत् पनि निर्माणको चरणमा छन्, ती गाउँपालिकाको आम्दानीका स्रोत हुन्,’ अध्यक्ष केसीले भने, ‘उज्यालो अन्नपूर्ण बनाउने गरी बजेट ल्याएका छौं ।’

    प्रधानमन्त्री कार्यालयका निजी सचिवसमेत रहेका नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवरले बजेटका क्रममा अन्नपूर्णका कतिपय अभ्यास अन्य पालिकाले पनि आत्मसात गर्नुपर्नेमा जोड दिँदै आफू अन्नपूर्णको विकासमा हुलाकी बन्न तयार रहेको औँल्याए ।

    उपाध्यक्ष अधिकारीले शिक्षा, स्वास्थ्य जस्ता मानव विकासका क्षेत्रलाई जोड दिएर यसपटक बजेट ल्याएको प्रस्ट पारिन् ।

    सभामा गाउँपालिका प्रवक्ता एवं वडा ७ का अध्यक्ष भरतमान् गुरुङ, वडा ५ अध्यक्ष जीवनाथ पौडेल (शंकर), वडा २ का अध्यक्ष पिताम्बर भण्डारी, वडा सदस्यहरु भानुभक्त दाहाल, गौमाया नेपाली, नीलकण्ठ जैसीलगायतले पनि धारणा राखेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट