
समाचार कुञ्ज तनहुँ — तनहुँको ऋषिङ्ग गाउँपालिका आगामी आर्थिक वर्ष २०८२/०८३ देखि “ऋषिङ्ग बस, ऋषिङ्ग फर्क” अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको छ। गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत गाउँमै जन्मिने शिशुको नाममा दीर्घकालीन बचतकोष स्थापना गरिने भएको हो।
गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार, स्वास्थ्य शाखाबाट प्रोटोकलअनुसारको पूर्व प्रसूती परीक्षणपछि जन्मिने प्रत्येक शिशुको नाममा पाँच हजार रुपैयाँको दरले बचत कोष खडा गरिनेछ।
"बसाईसराइका कारण गाउँ रित्तिंदै गएको अवस्थालाई रोक्न र पुनः गाउँ फर्काउने वातावरण बनाउन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो," अध्यक्ष श्रेष्ठले बताउनुभयो।
गाउँपालिकाले “ऋषिङ्ग समृद्धिको आधार : कृषि, संस्कृति, पर्यटन र पूर्वाधार” भन्ने दीर्घकालीन नारालाई आत्मसात गर्दै जल, जमिन, जंगल, जडिबुटी, खानी तथा शालिग्राम जस्ता खनिज स्रोतको संरक्षण र दीगो उपयोगको नीति अघि सारेको छ।
त्यसैगरी, “एक घर, एक स्थानीय सीप” कार्यक्रमलाई अभियानकै रूपमा निरन्तरता दिइनेछ भने हरेक वडा कार्यालयसम्म पक्की सडक विस्तार, एक घर–एक धारा खानेपानीजस्ता लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिइने बताइएको छ।
प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईका अनुसार, उज्यालो ऋषिङ्ग अभियान, खरको छानोमुक्त ऋषिङ्ग र एक वडा, एक उत्पादनजस्ता सफल कार्यक्रमहरूलाई पनि विशेष प्राथमिकताका साथ अघि बढाइनेछ।
"प्रविधिमैत्री सेवा प्रवाहमार्फत ऋषिङ्गलाई सुशासनयुक्त गाउँपालिका बनाउने हाम्रो लक्ष्य हो," उहाँले भन्नुभयो।
गाउँपालिकाले “समृद्ध ऋषिङ्ग, सुखी एवं खुसी ऋषिङ्गबासी” निर्माण गर्ने अभियानमा प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्दै आम नागरिकसँग हातेमालो गर्दै अगाडि बढ्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस