
समाचार कुञ्ज प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) सन्तोष प्रसाईंसँग नियामक निकायमा समेत काम गरेको अनुभव छ । अहिले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडमा सीईओ रहेका प्रसाईं चार्टर्ड एकाउन्टेन्स समेत हुन् । प्रभु र महालक्ष्मी लाइफले मर्जर गरेको २ वर्ष पूरा हुन लागेको छ । बीमा क्षेत्रमा मर्जर अनुभव तथा बीमा बजारको विषयमा प्रसाईंसँग गरिएको कुराकानी :
दुई संस्थाको मर्जरपछि काम गर्दा कस्तो अनुभव भइरहेको छ ?
मैले अनुभव गरेको यो पहिलो मर्जर हो । नेपालमा कम्पनीहरुको सम्पत्तिको मूल्यांकनसँगै भावनात्मक लगावका आधारमा पनि मर्जर भएका उदाहरण छन् । त्यसैले कहिलेकाहीँ नेटवर्थ गौण बनिदिन्छ । मर्जरका सन्दर्भमा हामीलाई पनि सुरुमा यो चुनौतीपूर्ण लागेको थियो । फरक – फरक ठाउँका मानिसहरुलाई एकै ठाउँमा ल्याउन समय लाग्ने रहेछ । एउटा कम्पनीको मानिस एउटा कल्चरबाट र अर्को कम्पनीको मानिस अर्को कल्चरबाट आएका हुन्छन । दुवै एकै ठाउँमा आउँदा के नमिलेको नमिलेको जस्तो हुने रहेछ । कम्पनी गाभिए पछि कतिपय फस्र्ट म्यान ( प्रमुख ) हरू सेकेन्ड म्यान ( उप – प्रमुख ) बन्नु पर्यो । त्यसैले शाखा प्रबन्धकहरूलाई भने असर पर्ने रहेछ शाखा प्रमुख भई काम गरिसकेकाले उपप्रमुख भई काम गर्न असहज महसुस गर्न रहेछ । प्रमुखका लागि सीमित पदहरू मात्र उपलब्ध हुने भएकाले सो मिलाउन कठिनाई हुने रहेछ । मर्जरको प्रक्रियामा रहँदा हामी करिब ६ सय कर्मचारीहरु एकै ठाउँमा हुने अवस्था थियो । त्यसैले कतिपयले त मर्ज हुनुभन्दा अगाडि आफैँ छाडेका थिए । मर्जपछि पनि हामी करिब ४ सयको हाराहारीमा कर्मचारीहरु भयौ । मर्जरपछि अघि बढ्ने विषयमा नेतृत्वको भूमिका निकै महत्वपूर्ण हुने रहेछ । यद्यपि, अहिले हामि सो मिलान गरी लयमा आइरहेका छौँ ।
दुई कम्पनी मर्ज भएर एकै कम्पनीबाट कारोबार शुरु गर्दा के कस्ता चुनौती देखिने रहेछन् ?
दुई वटा कम्पनी एकै ठाउँ आउँदा २ वटा कल्चर हुने समस्या ठूलो एवं प्रमुख नै थियो भन्दा फरक पर्दैन । त्यसको व्यवस्थापनमा हामी सफल भयौँ । कम्पनी मर्ज हुनुभन्दा अघि नै कोरोनाको प्रभावले बीमा व्यवसायमा कमी आइरहेको अवस्था थियो । मर्जको अघिल्लो वर्षनै १ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थियौँ, भने मर्जरपछिको पहिलो वर्ष त्यसको हाराहारी मात्र भइयो । मर्जरपछिका पहिलो ५ महिनाको समय चुनौतीपूर्ण रह्यो । व्यावसायिक हिसाबले मर्जमा गएका अन्य कम्पनी नै हेरियो, भने पनि उनीहरुको बीमाशुल्क २४ / २५ प्रतिशतले घटेको अवस्था थियो । तत्कालीन समयमा हामी २ प्रतिशतले मात्र पछाडि भयौँ, तर मर्जरको केही समय मात्र पछि भने हामीले राम्रो प्रगति गरेका छौँ । अहिले हेर्ने हो भने हामी मर्जर पछिको पहिलो वर्षको व्यवसायको तुलनामा ५१ प्रतिशतको वृद्धिमा छौँ । त्यसको पछाडि हाम्रो टर्म वर्क नै मुख्य हो । मर्जपछि स्थायित्व हासिल गर्न ( अथवा स्थिर हुन ) केही समय लाग्ने रहेछ, जुन प्रक्रिया भावनात्मक र मनोवैज्ञानिक दुवै रूपमा जोडिएकोले केही विशेष अनुभव हुने रहेछ ।
मर्जपछिको २ प्रतिशत घटेको व्यापार अवस्थाबाट कसरी पुरानै अवस्थामा आउनु भयो ?
बीमा क्षेत्रमा मर्ज भएका पाँचै वटा कम्पनीहरू घट्दो अवस्थामै थिए । त्यसको केही असर हामी माथि पनि पक्कै परेको हो । हाम्रो पोर्टफोलियो सन्तुलनमै रहेको जस्तो अनुभव भएको थियो । नेतृत्व सम्हालेपछि मैले अघिल्लो नेतृत्वबारे न त राम्रो भनेको छु, न त नराम्रो – किनभने सबैको काम गर्ने तरिका आ – आफ्नै हुन्छ । मैले नयाँ अर्को कम्पनीको कर्मचारी ल्याउँदा, उसलाई नयाँ अनुभव हुन्छ । तर ममा कर्मचारीहरुलाई ‘ यो तपाईंहरूको कम्पनी हो, र म तपाईंहरूको नेतृत्वकर्ता हुँ ’ यो कम्पनी राम्रो हुँदा हामी सबैको राम्रो हुन्छ भन्ने सन्देश तल्लो तह सम्म पुर्याउन सके त्यो सोचले पनि सकारात्मक परिणाम दिन सक्ने भन्ने विश्वास थियो । किनभने, कुनै पनि क्षेत्रमा नेतृत्व गर्नेले फराकिलो सोच राखेर अघि बढेमात्रै सफलता प्राप्त गर्न सकिन्छ र त्यसले मात्रै सकारात्मक परिणाम दिन्छ भन्ने मैले बुझेको थिएँ । शुरुमा हामीलाई लाग्यो कि समस्या कर्मचारीहरूमा हो, तर पछि बुझियो – सबैभन्दा ठूलो चुनौती त एजेन्सी क्षेत्रमा रहेछ । एजेन्सीका साथीहरूको आफ्नै मनोविज्ञान र भावनात्मक लगाव हुँदोरहेछ । कसैले पनि सीईओ वा अरूका लागि होइन, आफ्नो लागि काम गर्ने रहेछन् । त्यस्तो भावना दिलाउन सक्नु जरुरी रहेछ । यस कम्पनीमा काम गर्ने जो – कोहीका लागि राम्रो अवसरहरू छन्, तर त्यसका लागि मेहनत गर्नुपर्छ । यहाँ पदोन्नति पाउन आफ्नो मान्छे हुनैपर्छ भन्ने धारणा हट्नु पर्छ । कम्पनीको प्रमुख कार्यकारीको हैसियतले मलाई सबै कर्मचारी समान लाग्छन् । कसले कति समय काम गर्यो भन्ने होइन, कसले कस्तो काम गरिरहेको छ र उसको काम गराई परिणाम उन्मुख छ कि छैन भन्ने नै मुख्य कुरा हो ।
प्रतिफलका हिसाबले कस्तो छ ? आगामी दिनमा रणनीति कस्तो हुन्छ ?
अहिले हामीले लाभांश पनि राम्रै दिएका छौँ । ३ वर्षदेखि करबाहेक करिब ८ / ९ प्रतिशत लाभांश राम्रो हो । हिजोका दिनमा ७० देखि ८० प्रतिशत फन्डको प्रतिफल १० देखि ११ प्रतिशत को हाराहारीमा थियो । अहिलेको अवस्था फरक छ । केही समय अघिसम्म १३ प्रतिशतमा राखेको मुद्दतीमा अहिले ४ / ५ प्रतिशत ब्याज पनि पाउन मुस्किल हुने अवस्था छ । हाल बैंकहरूले समेत मुद्दतीमा निक्षेप लिन अनिच्छा देखाइरहेका छन् । यस्तो पृष्ठभूमिमा हामीले हाम्रो रणनीतिहरूमा केही फेरबदल गर्नु पर्ने आवश्यकता देखिएको छ । अबको दिनमा उच्च प्रतिफल दिने प्रडक्टहरू ( हाइ इल्ड प्रोडक्ट ) बिक्रीमा ध्यान केन्द्रित गर्नु पर्ने देखिन्छ । कम्पनीको मुख्य आम्दानीका क्षेत्रहरु २ वटा हुन्छन् – इन्भेस्टमेन्ट प्रोफिट र अन्डरराइटिङ प्रोफिट । इन्भेस्टमेन्ट प्रोफिट लगानीबाट प्राप्त हुने नाफा हो, भने अन्डरराइटिङ प्रोफिट बीमा व्यवसायबाट आउने सरप्लस हो । अहिले यी क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्ने समय आएको छ । विशेषगरी हामीले अन्डरराइटिङ प्रोफिट सुधार गर्नका लागि विभिन्न उपायहरू अपनाइरहेका छौँ । दाबी व्यवस्थापन प्रणालीलाई डिजिटल माध्यमबाट थप पारदर्शी र प्रभावकारी बनाउने जस्ता रणनीति समावेश छन् । यस्ता उपायले कम्पनीको दाबी अनुपातलाई सन्तुलित राख्दै दीर्घकालीन लाभ सुनिश्चित गर्न सहयोग पुर्याउने विश्वास छ । हामी केही टर्म प्रडक्ट ( म्यादी बीमालेख ) हरु ल्याउने तयारीमा छौँ । अहिलेको प्रतिफल कायम राख्न रणनीतिक रूपान्तरण आवश्यक देखिएको छ । विगतमा हामीले ४ / ५ वर्षको अन्तरालमा मात्र यस्तो चुनौती देखेका थियौँ । त्यसबेला बैंकको ब्याजदर ११ प्रतिशतबाट ५ प्रतिशतमा झरेको थियो, तर त्यो धेरै समयको लागि भएन । अहिले लगभग डेढ वर्षदेखि ब्याजदर ११ / १२ प्रतिशतबाट घटेर साढे ३ प्रतिशतसम्म आइपुगेको छ, र यो अझै कति समय रहने हो थाहा छैन । नेपाल राष्ट्र बैंकले नीति सहज बनाउँदा जनसाधारणसँग नगद उपलब्ध भयो, बैंकमा निक्षेप थुप्रियो । तर, कर्जाको प्रवाह भने बढ्न सकेको छैन । कतिपय बैंकहरूले ७ वर्षका लागि ७ / ८ प्रतिशतको फ्ल्याट रेटमा कर्जा दिन थालेका छन्, तर त्यसले पनि कर्जाको मागमा खास वृद्धि ल्याएको छैन । त्यसैले, अहिलेको ब्याजदर बढने सम्भावना कम छ । विगतझैँ पुनः चाँडै बढ्ने संकेत पनि देखिएको छैन । बीमा कम्पनीको आम्दानीको एउटा हिस्सा ब्याजदर पनि हो । बीमा प्राधिकरणले विभिन्न क्षेत्रमा लगानीका लागि बाटो खोलिदिएको छ, तर बीमा कम्पनीको मुख्य हिसा बैंकको मुद्दतीमा नै हुन्छ । घट्दो ब्याजदरले असर त पारे नेपालमा हाल बिक्री भइरहेका अधिकांश जीवन बीमा प्रडक्टहरू पार प्रडक्ट हुन्, जसलाई पार्टिसिपेटिङ पोलिसी पनि भनिन्छ । यस्ता प्रडक्टमा बीमालेखधारीहरूले कम्पनीको नाफामा सहभागी हुने सुविधा पाउँछन् । जब ब्याजदर ११ / १२ प्रतिशत जति थियो, त्यो बेला हामीलाई धेरै चिन्ता थिएन । किनभने, हामीले ग्राहकहरुलाई राम्रो प्रतिशत बोनस रिटर्न दिन सकेका थियौँ । हाल बैंकको ब्याजदर कम हुँदा मानिसहरू बैंकमा निक्षेप राख्न अनिच्छुक हुन्छन्, जसले बीमा क्षेत्रलाई एकल बीमालेख बिक्री गर्न सजिलो हुन्छ । उदाहरणका लागि, यदि कसैले १० लाख रुपैयाँको बीमा कभरेज लिन चाहन्छ भने बैंकमा त्यो रकम पूरै राख्नु पर्ने हुन्छ । तर, टाइम भ्यालु अफ मनि को कारणले ७० / ७५ प्रतिशत मात्रै रकम जम्मा गर्नाले पनि त्यो बीमा कभरेज पाइन्छ । त्यसैले अहिले सिंगल प्रिमियम बीमा बढी आकर्षक बन्न थालेको छ । यद्यपि, यो अवस्था सधै रहँदैन । यदि फेरि बैंकको ब्याजदर बढ्यो भने मानिसहरू फिक्स्ड डिपोजिटतिर फर्किन सक्छन्, तर यहाँ बुझ्नु पर्ने कुरा के हो भने – बैंक र बीमाको अवधारणा नै फरक हो । नेपालमा अझै पनि बीमा प्रडक्ट ब्याजदरको ट्रेन्डसँग जोडिएर चल्छन् । जबकि, जापान वा अमेरिका जस्ता बिकसित देशहरुमा नन – पार्टिसिपेटिङ र र्टम प्रडक्ट बढी बिक्रीमा छन् । त्यहाँको कर प्रणाली र सामाजिक सुरक्षाको संरचना नै फरक छ । व्यक्तिहरू रिटायर्ड भएपछि सरकारले नै जिम्मा लिन्छ, त्यसैले भविष्यको बचतप्रति धेरै चिन्ता गर्नु पर्दैन । तर, हामीकहाँ अवकास भए लगत्तै आम्दानीको स्रोत सकिन्छ, चाहे जतिसुकै कर तिरे पनि । त्यसैले हामीकहाँ बचतमा आधारित प्रडक्टको माग बढी छ । मानिसहरू ६० वर्षपछि पैसा आवश्यक पर्ने सोचले अहिले नै योजना बनाउँछन्, तर र्टम प्रडक्ट पनि महत्वपूर्ण छन्, जसले कम बीमाशुल्कमा ठूला जोखिमहरू धारण गर्ने काम गर्छ । यद्यपि, अहिले भने ९६ / ९७ प्रतिशतसम्म सावधिक जीवन बीमालेख ( पार्टिसिपेटिङ पोलिसी ) हरु स्वीकार भइरहेका छन् । अब र्टम प्रडक्ट विस्तार गर्दै जानु पर्ने आवश्यकता देखिएको छ । यो एउटालाई रोज्ने कुरा होइन, दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउने रणनीति हो ।
दुई वटा संस्था मर्ज भइसकेपछि पुँजी बढ्यो, त्यसको अनुपातमा व्यवसाय कतिको बढिरहेको छ ?
पुँजी किन बढ्यो र कसरी बढ्यो ? भन्नेतर्फ म जान चाहन्न । अहिले कम्पनीको प्रथम बीमाशुल्क अर्बभन्दा माथि गइसकेको छ । हामी यो वर्ष करिब १ अर्ब ८० करोड हाराहारी पुग्न सक्छौं । नवीकरण झन्डै ३.५-४ अर्ब रुपैयाँको हुन्छ । दुवै गर्दा करिब ६ अर्बभन्दा बढी हुन्छ । बैंक र बीमा फरक क्षेत्र हुन् । बीमामा पुनर्बीमा पनि गरिएको हुन्छ । मैले एक करोड रुपैयाँको बीमालेख लिए भने त्यसमा ५ वा १० लाख रुपैयाँको जोखिम लिने हो बाँकी पुनर्बीमा कम्पनीलाई दिन्छौँ । यस्तो अवस्थामा चुक्तापुँजीले जोखिम धान्छ भन्ने लाग्दैन । किनभने, जीवन बीमामा सबै जोखिम पुँजीले धान्नै सक्दैन । अहिले २ वटा कम्पनी मर्ज भएको २ वर्ष पुग्यो । हामी सञ्चालनमा आएको ७ वर्ष भयो । साविक प्रभु लाइफभन्दा महालक्ष्मी लाइफ १ वर्ष पछाडि आएको हो । अब हामीले हाम्रो पुँजी बराबरको प्रथम बीमाशुल्क निकट भविष्यमा अथवा ३ / ४ वर्षको अन्तरालमा गर्न सक्ने छौँ । ५ अर्ब रुपैयाँ पुँजी भएको कम्पनीले १० प्रतिशत मात्र प्रतिफल प्राप्त गर्न ५० / ६० करोड रुपैयाँ कमाउनै पर्छ । शेयरधनीहरुलाई लाभांश दिनैपर्छ । बीमा कम्पनी चल्नका लागि नाफा चाहिन्छ । अहिलेसम्म हामीले राम्रो गरेका छौँ । भविश्यमा पनि राम्रो गर्छौ भन्ने विश्वास छ ।
तपाईं नियामक निकाय हुँदै अहिले बीमा कम्पनी हाकिरहनु भएको छ । नेपालको बीमा बजार कस्तो देखिन्छ ?
नेपालको बीमा बजार राम्रो लाग्छ । जिडिपीको योगदानमा पनि हामी अन्य देशभन्दा कमजोर छैनौँ । अहिले पनि जीवन बीमाको जीडीपीमा योगदान २.७४ र औसतमा बीमा क्षेत्रको ३.४७ प्रतिशत छ । आजभन्दा १० वर्ष अगाडि र अहिले हेर्ने हो भने मानिसमा सचेतना बढेको छ । मानिसलाई बीमा गरे के हुन्छ भन्ने कुरा धेरैलाई थाहा छ, तर यतिले मात्रै पुग्छ जस्तो लाग्दैन । अहिले नियामक निकाय पनि निकै सक्रिय भएको छ । स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रमहरु भइरहेका छन् । प्रत्येक प्रदेशमा नियामक निकाय पुगेको छ । यसले सचेतना स्तर बढ्छ भन्ने विश्वास लिएको छु ।
अझै पनि बीमा कम्पनी दूरदराजमा पुग्न सकेका छैनन् । बीमा बढी सहरमा केन्द्रित छन् । यस्तो कहिलेसम्म हुन्छ ?
बीमाको पहुँच गाउँ – गाउँसम्म पुर्याउनु पर्छ भन्नेमा दुईमत छैन । बीमा सेवा सबै नागरिकको हक हो, चाहे त्यो सहर होस् वा सुदूर गाउँ । हामी आफैँ जुम्लादेखि बाजुरा, बझाङ र दार्चुलासम्म पुगिसकेका छौँ – त्यहाँभन्दा भन्दा दूरदराज के होला ? तर शाखा खोल्नु मात्रै समाधान होइन, त्यो शाखा दिगो रूपमा सञ्चालन हुन पनि सक्नुपर्छ । कुनै शाखा खोल्ने हो भने त्यसले २ वर्षभित्र आफैँ संचालनमा आउन सक्ने स्थितिमा पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हाल हाम्रो कम्पनीको शाखा / उप – शाखा गरी १ सय १५ वटा कार्यालयहरु छन्, जसमा ३० वटा शाखा काठमाडौं उपत्यकामा छन् । माइक्रो इन्स्योरेन्स शुरू गर्ने नियामकको उद्देश्य पनि त्यहीँ हो – ती स्थानमा बीमा सेवा पुर्याउनु, जहाँ परम्परागत बीमा कम्पनीले पुग्न सकेका छैनन् । माइक्रो इन्स्योरेन्सले लाखभन्दा कम बीमा सीमा भएका ग्राहकहरूलाई लक्षित गर्ने हो र उनीहरू त्यसै तहमा कार्य गर्नु पर्ने हो । त्यसका लागि सचेतना पनि आवश्यक छ । हाम्रो कम्पनीसँग मात्रै २५ हजार भन्दा बढी सक्रिय एजेण्टहरू छन्, जसको ठूलो हिस्साले गाउँघरकै प्रतिनिधित्व गर्छन् । त्यसैले बीमा गाउँमा पुगेको छैन भन्ने कुरा पूर्ण रूपमा सही नहुन पनि सक्छ ।
अहिले आम मानिसलाई बीमा गर्नु पर्छ भन्ने सोचाइ कतिको अभिवृद्धि भएको पाउनु भएको छ ?
शुरुमा नेपालमा बीमाको पहुँच जम्मा ७ देखि १० प्रतिशत जनसंख्यामा सीमित थियो । आजको दिनमा करिब ४४ प्रतिशत जनसंख्याले बीमा सेवा लिएका छन्, जुन एक उल्लेखनीय प्रगति हो । यसले जनमानसमा जीवन अनिश्चित छ, मृत्यु सत्य हो र दुर्घटनाजस्ता घटना कहिल्यै पनि हुन सक्छ भन्ने चेतना विस्तार हुँदै गएको संकेत गर्छ । नेपालका अधिकांश परिवारमा १ जना मात्र कमाउने व्यक्ति हुन्छन्, जसको भरमा श्रीमती, बच्चा र अभिभावकजस्ता अन्य सदस्यहरू निर्भर हुन्छन् । त्यस्तो व्यक्तिलाई केही भएमा त्यसको सम्पूर्ण असर परिवारमा पर्छ । आजकल मानिसहरूले बीमालाई भविष्यको तयारीका रूपमा हेर्न थालेका छन् । कसैले अरूको अनुभवबाट सिकेका छन्, त कसैले आफैँ बुझेर बीमा गर्न थालेका छन् । नेपालको हालको कर प्रणालीले वृद्धावस्थाको सामाजिक सुरक्षा सुनिश्चित गर्न सक्दैन । जसले गर्दा मानिसहरू बुढेसकालका लागि आफैँले योजना बनाउनु पर्छ भन्ने बुझाइमा पुगेका छन् । त्यसमाथि, अधिकांश युवाहरू विदेश जाने गरेका छन् । उनीहरू आफैँ आफ्ना परिवार र बच्चाहरूको जिम्मेवारीमा व्यस्त हुने भएकाले अभिभावकले पनि अब आत्मनिर्भर हुनुपर्छ भन्ने सोच बढेको छ । उदाहरणका लागि, आजै बालबालिकाहरुको १० / १५ लाख रुपैयाँ बराबरको बीमा गरेमा भविष्यमा पढाइ वा अन्य आवश्यकताका लागि २० / २५ लाख जुटाउन एकै पटक झमेला भोग्नु पर्ने हुँदैन । अहिले धेरै अभिभावकहरूले त्यो कुरा बुझेका छन् । बीमाको बजार अहिले तीव्र रूपमा विस्तार भइरहेको छ, तर यो चेतनाको विस्तार पर्याप्त छैन । यसलाई अझ विस्तार गर्न बीमा नियामक निकाय, सरकार र हामीजस्ता कम्पनीहरूको सक्रिय सहभागिता अपरिहार्य छ । जनचेतना बढिरहेको छ भन्नेमा दुईमत छैन, तर अझै पनि देशका धेरै ठाउँमा पुग्न बाँकी छ । त्यसैले हामीले निरन्तर प्रयास गर्दै जानुपर्छ ।
न्यून आय भएका मानिसले कसरी बीमा गर्ने ?
बीमा विलासिता होइन, आवश्यकता हो । धेरैले बीमा गर्न धेरै पैसा लाग्छ भन्ने भ्रम पालेका छन्, तर त्यो वास्तविकता होइन । योजना मिलाएर काम गर्ने हो भने थोरै आम्दानी भएका व्यक्तिहरूले पनि सजिलै बीमा गर्न सक्छन् । जस्तो कि, यदि कसैले १५ वर्षको लागि १० देखि १५ लाख रुपैयाँको जीवन बीमा गर्छ भने, वार्षिक बीमाशुल्क औसतमा ९० हजारदेखि १ लाख रुपैयाँजति पर्छ । महिनामा हेर्ने हो भने त्यो ७ / ८ हजार रुपैयाँ मात्र हुन्छ । यदि १५ लाखको सट्टा १० लाख रुपैयाँको बीमा लिने हो भने, मासिक बीमाशुल्क झनै हुन आउँछ । यो त सामान्य मानिसले समान्य कुरामा गर्न खर्च रकम हो । समस्या के हो भने हामी एकैचोटि करोड रुपैयाँ चाहिन्छ भनेर सोच्छौँ, जुन व्यवहारिक होइन । ठूलो रकम सानो सानो बचतबाटै बन्ने हो । अनि बीमा त मुख्यतः त्यहीँ व्यक्तिका लागि आवश्यक हुन्छ, जसको आम्दानी सीमित छ । किनभने, जसको कम आम्दानी छ, उसले जीवनमा हुने जोखिम थेग्न झन् बढी सुरक्षा आवश्यक पर्छ । त्यसैले बीमा खर्च होइन, बचतसँग सुरक्षा मिलाएको योजना हो भन्ने बुझाइ अब फैलनु पर्ने बेला आएको छ ।
बीमाका पोलिसीहरू सबै उस्तै – उस्तै जस्तो देखिन्छ नि किन ?
हो, सतहमा हेर्दा अधिकांश बीमा पोलिसीहरू उस्तैजस्तै देखिन्छन् । किनभने, बीमाको मूल ढाँचा – जस्तै बीमाङ्क रकम, अवधिको समय, र बोनस संरचना प्रायः कम्पनीमा मिल्दो जुल्दो नै हुन्छ । यदि कुनै कम्पनीले बढी बोनस दिन्छ भने उसको बीमाशुल्क पनि बढी हुन्छ । बीमाशुल्क बराबर भए बोनस पनि झण्डै उस्तै हुन्छ, तर, वास्तविक अन्तर सेवाको गुणस्तरमा हुन्छ – विशेषगरी दाबी भुक्तानीको प्रक्रियामा । बीमालेखधारीलाई चाहिने बेला सेवा कत्तिको सहज छ ? दाबी गर्दा कति छिटो प्रक्रिया पुरा हुन्छ ? कम्पनीको नेटवर्थ कस्तो छ ? उसको विगतको दाबी भुक्तानी रेकर्ड कस्तो छ ? यी सबै महत्वपूर्ण पक्ष हुन, जुन धेरैले पहिलो नजरमा हेर्दैनन् । अहिले सेवामा ध्यान दिने प्रवृत्ति बढ्दै गएको छ । हाम्रो कम्पनीमा कागजात नपुगेका बाहेक लगभग सबै दाबी समयमै भुक्तानी हुन्छन् । आवश्यक कागजात पूर्ण भएमा हामी ३ / ४ दिनभित्र दाबी भुक्तानी दिने अभ्यासमा छौँ । अन्त्यमा कुरा यत्तिमै आउँछ – वास्तविक मूल्य सेवा हो । पोलिसीको कागजमा लेखिएको मात्र होइन, तपाईंलाई कठिन समय परेको बेला कम्पनीले कत्तिको साथ दिन्छ, त्यसले नै फरक पार्छ ।
तर, पछिल्लो समय दाबी भुक्तानीमा किन धेरै प्रश्न उठिरहेको छ ?
हरेक कम्पनीको आफ्नो छुट्टै रणनीति हुन्छ, तर हाम्रो कम्पनीको हकमा हेर्ने हो भने अहिलेसम्म ९९ प्रतिशत भन्दा बढी दाबी भुक्तानी भइसकेको छ । थोरै अपवादबाहेक अधिकांश दाबीहरू सहज रूपमा समाधान भएका छन् । तर समस्या प्रायः त्यस्तो अवस्थामा देखिन्छ, जब बीमा गर्दा ग्राहकले आवश्यक सूचना नखुलाएको हुन्छ । उदाहरणका लागि, यदि कसैलाई पहिले नै क्यान्सर लागेको छ भने त्यस व्यक्तिको बीमा गर्न मिल्दैन, तर जानकारीको अभावमा वा लापरवाहीले मानिसले बीमा गरिहाल्छन् । बीमा प्रस्ताव फारममा ‘ तपाईंलाई कुनै रोग लागेको छ ? ’ भनेर सोधिएको हुन्छ । तर, ग्राहकले ‘ छैन ’ भनेर गलत जानकारी दिन्छन्, जबकि उसले पहिले नै परीक्षण गराइसकेको हुन्छ वा उसलाई रोग लागेको हुन्छ । यस्तो अवस्थामा पछि गएर दाबीमा समस्या आउँछ । यसलाई बीमा कम्पनीको गल्ती भन्न मिल्दैन । यो परम सदविश्वास सँग सम्बन्धित कुरा हो । यदि सबै जानकारी सत्य रूपमा दिइन्छ भने, दाबी प्रक्रियामा कुनै जटिलता हुँदैन । यो कुरा बीमीतहरुले बुझ्न आवश्यक छ । जब बीमा गर्दा सबै कुरा स्पष्ट गरिन्छ, तब दाबी भुक्तानी पनि सहज रूपमा प्राप्त गर्न सकिन्छ । यस्तो अपवादबाहेक, मृत्यु दाबी जस्ता दाबीहरूमा सामान्यतया कुनै समस्या देखिँदैन ।
पछिल्लो समयमा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको विषय निकै पेचिलो बनेर देखिएको छ । समस्या बढ्दो क्रममा हो ?
मैले व्यक्तिगत रूपमा हेर्दा यो देखेको छैन । कहिलेकाहीँ हुन पनि सक्छ । कहिलेकाहीँ सम्पत्ति शुद्धीकरण निवारणका लागि हामी २ लाखमा पनि आय स्रोत खोजिरहेका हुन्छौँ । १ लाख रुपैयाँभन्दा बढी बीमाशुल्कको विवरण हामीले राष्ट्र बैंकको सम्बन्धित विभागमा बुझाउने गरेका छौँ । शंकास्पद कारोबारहरू पनि देखाउने गरेका छौँ । भोलिको दिनमा असामान्य परिस्थिति सिर्जना नहोस् भनेर अलि कडाइ गरेको होला । बैंकले ९ लाख ९० हजारसम्ममा स्रोत खासै हेर्दैन । हामीले प्राप्त गर्न बीमाशुल्क १ लाखभन्दा माथि अनिवार्य रुपमा बैङ्किङ माध्यम बाट मात्र लिन्छौँ । बैंकमा रहेको पैसा हामीले फेरि पुनः प्रमाणीकरण कसरी गर्ने ? हामीले त्यो पैसालाई कर तिरेर नै आएको होला भनेर सम्झने हो । यद्यपी, शंका लागेमा सम्बन्धित निकायमा सूचना गर्ने संयन्त्र पनि छ । साथै, बैङ्किङ माध्यमबाट आएको पैसालाइ सम्पती शुद्धिकरण गरेको भन्ने आधार हामीसँग हुँदैन । त्यसको स्रोत शुरुमानै बैंकमा नै बुझाएको हुन्छ ।
पछिल्लो समय बीमा पोलिसी सरेन्डरको संख्या बढेको तथ्यांकले देखाउँछ ?
सबैभन्दा पहिले, सरेन्डर ( बीमा समर्पण ) भनेको के हो भन्ने बुझ्न आवश्यक छ । बीमा सरेन्डर भन्नाले बीमितले बीमालेख जारी राख्न नसक्ने वा बीचमै छोड्ने अवस्था हो । बीमालेखको ३ किस्ता तिरेपछि र पूरा ३ वर्ष अवधि चलेपछि मात्रै सरेन्डर गर्न मिल्ने कानुनी व्यवस्था रहेको छ । तर, सरेन्डर कसैका लागि लाभदायक हुँदैन – न कम्पनीका लागि, न बीमितका लागि, न एजेन्सीका लागि हो । नेपालमा जीवन बीमा पोलिसी सरेन्डर ( बीमालेख समर्पण ) बढ्नुका पछाडि धेरै कारणहरू छन् – जस्तै: अझै पनि बीमालाई अनिवार्यभन्दा सहायक मात्र मान्ने प्रवृत्ति, मानिसको आय – आम्दानी नबुझी जबरजस्ती वा अधूरो जानकारीका आधारमा बीमा बिक्री, देशको अस्थिर आर्थिक अवस्था, व्यक्तिगत जीवनका परिवर्तन ( जस्तै: बिदेसिनु ,जागिर छुटनु,व्यवसाय बन्द हुनु, आदि ) आफनो आर्थिक क्षमताभन्दा बढी बीमाङ्कको बीमा गर्नु ,कम बोनसदर, आकस्मिक वित्तीय आवश्यकताहरू नयाँ योजना लिन पुरानो बीमालेख सरेन्डर गर्ने जस्ता छन । यद्यपि, हामी सरेन्डर शून्य होस् भन्ने चाहन्छौँ, नेपाली बीमा बजारमा १५ / २० प्रतिशत सरेन्डर रेटलाई सामान्य मानिन्छ, तर यसले प्रिमियममा कति असर गर्छ भन्ने बुझ्न जरुरी छ । कहिलेकाहीँ थोरै पोलिसी ( बीमालेख ) सरेन्डर हुँदा पनि ठूलो प्रिमियम ( बीमाशुल्क ) सरेन्डर हुन सक्छ, भने कहिलेकाहीँ धेरै बीमालेख सरेन्डर हुँदा पनि कम बीमाशुल्क सरेन्डर हुन सक्छ । बीमालेख सरेन्डर कसैका लागि लाभदायक हुँदैन : कम्पनीले प्रारम्भिक खर्च ( एक्विजिसन कस्ट ) ५० – ५५ प्रतिशतसम्म लगानी गर्छ, बीमितले छोटो अवधिमा सरेन्डर गर्दा आफ्नो योजना अनुसारको फाइदा पाउँदैनन् र एजेन्टको कमिशन पनि रोकिन्छ । बीमितले प्रायः १५ वर्ष तिर्छु भनेर योजना बनाउँछन्, तर ३ वर्षमै छोड्दा उनले तिरेको बराबरको रकम पनि फिर्ता पाउँदैनन् । एजेन्सी साथीहरूलाई पनि निरन्तर प्रिमियमबाट नै कमिशन आउने हुँदा सरेन्डरले सो कमिसन पनि रोकिन्छ । त्यसैले हामी हाम्रा एजेन्टहरूलाई ब्रान्ड एम्बेसडर र पहिलो अन्डरराइटर भन्छौँ । उनीहरूको कमिशन कम्पनीबाट हो । बीमित ( पोलिसी होल्डर ) को पैसा होइन । यदि त्यो बीमितकै पैसा हुन्थियो भने भुक्तानीमा त्यो पैसा काटेर दिइन्थ्यो । अन्ततः, बीमा दीर्घकालीन आर्थिक सुरक्षा र परिवारको स्थायित्वका लागि हो भन्ने कुरा कम्पनी, अभिकर्ता र बीमितबीच सचेत, पारदर्शी र सकारात्मक संवादमार्फत फैलाउन सके बीमाको भविष्य अझ उज्यालो र दिगो बन्ने छ ।
अहिले बीमा क्षेत्रमा के कस्ता खालका चुनौतीहरू छन् ?
चुनौती त सधैं रहन्छन्, तर मुख्य कुरा त हो – ती चुनौतीलाई अवसरको रूपमा कसरी लिन सकिन्छ भन्नेमा । अहिलेको सन्दर्भमा सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो । सशक्त एजेन्सी नेटवर्क निर्माण गर्नु र त्योभन्दा पनि महत्वपूर्ण कुरा हो – एजेन्सी साथीहरूलाई बीमाको सटिक जानकारी दिनु, बुझाउन सक्नु । एजेन्टहरूलाई पेशागत रूपमा सशक्त बनाउनु अत्यावश्यक छ । यद्यपि, बीमा पहुँच अहिले करिब ४४ प्रतिशत जनसंख्यामा पुगेको छ, त्यसलाई अझै विस्तार गर्नु अर्को चुनौती हो । बीमालाई हरेक घरसम्म पुर्याउनु, र बुझ्नेगरी पुर्याउनु, अझै टाढाको यात्रा हो । त्यसैगरी, नीति र नियामकीय चुनौतीहरू पनि उत्तिकै छन् जस्तै: सम्पत्ति शुद्धीकरण निवारण ( एन्टी मनी लाइन्डिङ ) ऐनअनुसार कार्य गर्नु, नियामक निकायले ल्याउने नयाँ सर्कुलरहरू र नियमहरूको पालना गर्दै जानु, र तिनमा अनुकूलता ल्याउनु । अर्को चुनौती भनेको साधारणसभा समयमै सम्पन्न गर्नु हो, जुन नियामक र कम्पनीको इच्छाशक्ति तथा तयारीमा भर पर्ने कुरा हो । तर, यी सबै चुनौतीहरू नयाँ होइनन् । हिजो पनि थिए, आज पनि छन्, भोलि पनि रहने छन् । प्रश्न भनेको ती चुनौतीलाई कसरी व्यवस्थित ढंगले समाधान गर्दै अगाडि बढ्ने भन्ने हो ।

प्रतिक्रिया दिनुहोस