
समाचार कुञ्ज देवचुली ।देवचुली नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ९५७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेको छ। छात्रवृत्तिका लागि ३८ लाख ९८ हजार रुपैयाँ निकासा गरिसकिएको छ, जुन असार मसान्तभित्र सम्बन्धित विद्यालयमार्फत विद्यार्थीको खातामा जम्मा गरिने छ।
शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माका अनुसार, छात्रवृत्ति वितरण ‘मेयर छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत गरिएको हो। यसअनुसार कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत ५ जना विद्यार्थीलाई प्रति व्यक्ति १८ हजार, कक्षा ५ र ८ मा ४ जीपीए ल्याएका २७ जनालाई प्रति व्यक्ति ४ हजार र विपन्न तथा जेहेन्दार ९२५ जनालाई प्रति व्यक्ति ४ हजार रुपैयाँ प्रदान गरिनेछ।
शर्माले छात्रवृत्तिका लागि कार्यविधि निर्माण गरी सोही आधारमा विद्यार्थी छनोट गरिएको बताए। उहाँका अनुसार छात्रवृत्ति वास्तविक आवश्यकता भएका विद्यार्थीहरूलाई लक्षित गरी वितरण गरिँदैछ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाको उद्देश्य कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने रहेको बताए। “सानो खर्चको अभावले पढाइ रोकिने अवस्था हटाउन र सबै बालबालिकालाई विद्यालयमा जोड्न हामी प्रतिबद्ध छौं,” उहाँले भन्नुभयो। टुहुरा, सीमान्तकृत, अति विपन्न तथा वैदेशिक रोजगारीमा बाबु वा आमालाई गुमाएका विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले आगामी दिनमा पनि आवश्यकता अनुसार छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस