
समाचार कुञ्ज नवलपुर, असार 23 नवलपुरको बौदीकाली गाउँपालिका-२, डेढगाउँका युवा समूहले आज जनप्रतिनिधिलाई विभिन्न २३ बुँदे ज्ञापनपत्र बुझाएको छ। असार २१ गते शनिबार बसेको युवा समूहको बैठकले गाउँपालिकाभित्र भइरहेका सुशासन, बेथिति र अनियमितताका विषयमा छलफल गरी वडाध्यक्ष र पालिका अध्यक्षसमक्ष यो ज्ञापनपत्र पेस गरेको हो।
युवा समूहले जनप्रतिनिधिसँग युवाकेन्द्रित कार्यक्रम आयोजना गर्ने, विभिन्न विषयमा सचेत गराउने र कार्यन्वयनमा सक्रिय गराउने निर्णय गरेको छ। ज्ञापनपत्रमा उल्लेखित मुख्य बुँदाहरू यसप्रकार छन्:
* फोहोर व्यवस्थापन र डम्पिङ साइट: फोहोर व्यवस्थापनका लागि उपयुक्त डम्पिङ साइट निर्माणमा जोड।
* बिजुली बत्ती: बजार क्षेत्र र आवासीय क्षेत्रमा पोलहरूमा बिजुली बत्ती राख्न विशेष जोड।
* भूमिहीनलाई जग्गा वितरण: भूमिहीनलाई जग्गा वितरणमा पूर्ण पारदर्शिता कायम गर्न र वास्तविक भूमिहीनको पहिचान गर्ने।
* कृषि तथा पशुपन्छी वितरण: कृषि तथा पशुपन्छी वितरणमा पारदर्शिता अपनाउन र आर्थिक पहुँच कम भएका व्यक्तिहरूलाई प्राथमिकता दिन अनुरोध। साथै, वितरणको जानकारी सबै जनतालाई थाहा हुनुपर्ने।
* गिट्टी बालुवा चोरी निकासी नियन्त्रण: गिट्टी बालुवाको चोरी निकासी, विशेष गरी रातिको समयमा ट्र्याक्टरले गर्ने चोरी रोक्न र जनताले महँगोमा किन्नुपर्ने बाध्यता हटाउन माग। घाट खुलाउने विषयमा पनि जोड।
* खेलकुद क्षेत्रको विकास: खेलकुद क्षेत्रमा आउने बजेटको सही सदुपयोग गर्न र खेलाडीहरूलाई प्रोत्साहन गर्न अनुरोध। कभर्ड हल निर्माणमा पनि जोड।
* बाटोको समस्या: सिंहटारीदेखि पालिका पुग्ने बाटोको अनियमितता र डेढगाउँभरि बाटोमा चोकर विछ्याए पनि गुरौंटार तथा तिरन्दी क्षेत्रको बाटोमा चोकर नराखेको विषयमा ध्यानाकर्षण।
* अनुदान वितरणमा सूचनाको कमी: कुनै पनि क्षेत्रमा आउने अनुदानको बारेमा सबैलाई जानकारी नगराएको विषयमा ध्यानाकर्षण।
* विकास निर्माणको प्रवृत्ति: विकास निर्माणका कामहरू बर्खा लागेपछि मात्र हुने गरेको प्रवृत्तिलाई सुधार गर्नुपर्ने माग।
* फन पार्कको व्यवस्थापन: फन पार्कको उचित व्यवस्थापनमा ध्यान दिन सम्बन्धित निकायलाई ध्यानाकर्षण।
* मर्मरीमा बस्नेहरूको हेरचाह: मर्मरीमा बस्नेहरूको उचित हेरचाह गर्ने व्यवस्था मिलाउने।
* प्रदेश मार्ग र रणनीति मार्ग: प्रदेश मार्ग र रणनीति मार्गमा सडक तथा नालाको समस्या समाधानका लागि पहल गर्ने।
* सिँचाइको समस्या: सिँचाइमा देखिएका समस्या समाधानका लागि अनुरोध।
* पालिकाको खरिदमा अनियमितता: पालिकाको खरिद प्रक्रियामा नियमितता र आर्थिक चलखेल रोक्न तथा जनतामा जानकारी खुल्ला गर्न आग्रह।
* अस्पताल सञ्चालनमा समस्या: अस्पताल सञ्चालनमा देखिएका समस्याहरू जस्तै एक्स-रे, ल्याब र यूएसजी सेवा नहुनुबारे ध्यानाकर्षण।
* सरकारी सवारी साधनको दुरुपयोग: सरकारी सवारी साधनको दुरुपयोग रोक्न माग (रातिको समयमा होटेल बाहिर, पानी लिन, घाँस बाँधेर हिँड्ने)।
* अध्यक्षको कार्यसमीक्षा र भावी योजना: विगत तीन वर्षमा अध्यक्षज्यूबाट भएका कामहरूको समीक्षा गर्दै अबका दुई वर्षमा के कस्ता कार्यहरू सम्पन्न गर्ने अपेक्षा राख्ने भन्ने विषयमा खुलस्त गर्न माग।
* बजेट कार्यान्वयनमा समस्या: लोकसेवा आयोग र शिक्षक सेवा कक्षाका लागि वर्षैनी बजेट छुट्याए पनि कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण।
* युवाका लागि सीप तथा अभिवृद्धि कार्यक्रम: बौदीकाली गाउँपालिकाभित्रका युवाहरूलाई स्थानीय तहबाट ड्राइभिङ, बाइक मेकानिकल, सिकर्मी डकर्मीजस्ता सीप तथा अभिवृद्धि कार्यक्रमहरू समावेश गर्न माग।
* युवा अन्तरक्रिया कार्यक्रम: अध्यक्षसँग युवा अन्तरक्रिया कार्यक्रम निरन्तर नभएकोमा ध्यानाकर्षण।
* स्थानीय व्यवसाय र बसाइँसराइ: स्थानीय व्यवसायहरू संकटमा पर्नुको कारण बसाइँसराइ र यातायातको असुविधा रहेको औंल्याउँदै पालिकाभित्र यातायातको उचित सुविधाको माग। डेढगाउँको जग्गाको मूल्य आवश्यकभन्दा धेरै महँगो भएकोले उचित मूल्य निर्धारणमा ध्यान दिन पनि ज्ञापनपत्रमा उल्लेख छ।
युवा समूहले यी निर्णयहरू मार्फत स्थानीय स्तरमा देखिएका विभिन्न समस्याहरूलाई सम्बोधन गर्न खोजेको बताएको छ। यसका लागि सम्बन्धित निकाय र जनप्रतिनिधिहरूसँग सहकार्य गर्ने प्रतिबद्धता पनि युवा समूहले व्यक्त गरेको

प्रतिक्रिया दिनुहोस