आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बौदीकाली गाउँपालिकाको योजनाबद्ध काम — प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँमा रोजगारी र पूर्वाधार दुवै


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ९, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ८ पाठक संख्या
  • बौदीकाली (नवलपरासी), ९ साउन— बौदीकाली गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ७७ जना बेरोजगार व्यक्तिहरूलाई गाउँमै गाउँकै सामुदायिक निर्माणका योजनाहरू औसत ८९ दिन रोजगारी प्रदान गरेको छ। कार्यक्रम अन्तर्गत १०० दिनसम्मको रोजगार उपलब्ध गराइएको थियो, जसमा ४० पुरुष र ३७ महिला सहभागी भएका थिए।
    गाउँपालिकाको रोजगार सेवा केन्द्रमार्फत सञ्चालन गरिएको कार्यक्रमका लागि विनियोजित कुल बजेट संघीय सरकारबाट रु. ६९ लाख ७६ हजार र गाउँपालिकाबाट निर्माण सामाग्रीको लागि विनियोजित कुल बजेट रु. २५ लाख गरि कुल रु. ९४ लाख ७६ हजारमा गरिएको थियो। सोमध्ये रु. ९१ लाख  ८८ हजार ८१५ खर्च गरि ९६.९३ प्रतिशत वित्तीय खर्च गरिएको छ।  स्रोत परिचालनको समन्वय र प्रभावकारी व्यवस्थापनले कार्यक्रमलाई व्यवस्थित बनाएको जनाइएको छ।
    कार्यक्रम अन्तर्गत बौदीकालीका ६ वटै वडामा २६ वटा पूर्वाधार निर्माण कार्यहरू सम्पन्न गरिएका छन्। जसमध्ये मिथुकरममा मलौटा र खारा मोटरबाटो क्षेत्रमा ग्याविन निर्माण गरिनुका साथै मिथुकरम डाँडाथरदेखि धर्मात्मा माविसम्म, नरमछापदेखि करन्दीसम्म पैदलमार्ग सिढि निर्माण, डेढगाउँमा छरछरे, टोक्नेखोल्सी, नुन्जेरी, लसुने, गैडिया खानेपानी मुहान सम्म सिढि निर्माण, रकुवामा नयाँछाप,सिउन, खैरेनी पैदलमार्ग , रूचाङमा लुकरुङ, ब्याघान, गुरुङस्वरा सिँढी निर्माण, बवकमा उदय मावि, लुङ्गेलिथर, बेसारडाँडा गल्ली निर्माण र नरममा नगरडाँडा माविसम्मको पैदलमार्गमा सिँढी निर्माण गरिएको छ। त्यस्तै रूचाङ बौदीखोलास्थित झोलुङ्गे पुल वरपर बाटो ढलान कार्यसमेत कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको हो।
    कार्यक्रमका सन्दर्भमा बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समान अवसर, पारदर्शिता र युवामैत्री रूपमा कार्यान्वयन गर्दै गाउँमै रोजगारी सिर्जना गर्न सफल भएको बताए। उनले आगामी वर्षमा दीर्घकालीन स्वरोजगार, तालिम र सीप विकासलाई प्राथमिकता दिने तयारी भइरहेको जानकारी दिए।
    गाउँपालिका उपाध्यक्ष डिल कुमारी के.सी. सारू मगरले गाउँका युवायुवतीलाई रोजगारीमा संलग्न गरिनुले उनीहरूको आम्दानी, आत्मविश्वास, सक्रियता र सामाजिक भूमिका वृद्धि भएको बताइन्। "हामीले महिलालाई समेत काममा सहभागी गराएर विकासमा उनीहरूको भूमिकालाई अझ सशक्त बनाएका छौं," उनले भनिन्।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले कार्यक्रमको पारदर्शिता, नियमित सुपरिवेक्षण र समन्वयकारी कार्यशैलीले यसको सफलतामा टेवा दिएको बताए। स्रोत परिचालन, अनुगमन र कामको गुणस्तरमा विशेष ध्यान दिइएको उनले बताए।
    कार्यक्रम संयोजक अर्जुन सुनारका अनुसार सहभागी युवाहरूले कामसँगै व्यवहारिक सीप सिक्न पाए। "अहिले उनीहरू गाउँमै केही गर्न सक्छु भन्ने मनोविज्ञानमा पुगेका छन्," उनले भने।
    स्थानीयबासीहरूका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै रोजगारीको सम्भावना देखाएर युवा शक्ति उपयोग गर्ने व्यवहारिक अभ्यासका रूपमा सकारात्मक सन्देश दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट