
समाचार कुञ्ज तिर्थराज काफ्ले, कावासोती — कावासोती नगरपालिकाअन्तर्गत महेन्द्र राजमार्गमा तीन दिनअघि दुईवटा गाईको करुणाजनक निधन भएको भए पनि अहिलेसम्म सडकबाट हटाइएको छैन। मृत गाईको दुर्गन्धका कारण देशका विभिन्न स्थानबाट यात्रा गर्ने यात्रुहरू मुख थुनेर हिँड्न बाध्य भएका छन्।
स्थानीय तिर्थ ढकालले कावासोती नगरपालिका र फोहरमैला व्यवस्थापनमा खटिएका कर्मचारीप्रति आक्रोश व्यक्त गर्दै भने, “के नगरपालिकालाई यसको जानकारी छैन? यस्ता घटनालाई बेवास्ता गर्न पाउने अधिकार कसैले पाउँछ?”
उनले व्यक्तिगत स्वार्थ पूरा भएपछि पशुचौपायालाई सडकमा छाड्ने अमानवीय व्यवहारको घोर निन्दा गर्दै भने, “गाईमाताको पीडा र आशिष उनीहरूलाई लागोस्।”
ढकालले “विश्व हिन्दू महासंघ, नवलपुर” जस्तो संस्था यस्ता संवेदनशील र धार्मिक विषयमा सक्रिय हुनुपर्नेमा मौन बस्नु ‘दुखद र लाजमर्दो’ भएको टिप्पणी गरे। गाईको संरक्षण र सम्मान गर्न नसकिएकोमा उनले व्यंग्य गर्दै ‘मुरिमुरि धन्यवाद’ दिएका छन्।
कावासोतीका स्थानीय ईन्द भट्टराईले पनि स्थानीय सरकारले यस्ता घटनाप्रति तुरुन्त ध्यान दिनुपर्ने बताए। उनका अनुसार, “धार्मिक भावनासँग जोडिएको यस्ता संवेदनशील मुद्दामा नगरपालिका र सम्बन्धित निकायको बेवास्ता गम्भीर विषय हो।”
यसैबीच, आसपासका बासिन्दाहरूले मृत गाई तत्काल हटाएर उचित व्यवस्थापन गर्न र यस्ता घटनाको पुनरावृत्ति रोक्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस