आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एसईईमा ४ जीपीए ल्याउने सिम्जनालाई भीमसेनले गर्‍यो नगदसहित सम्मान


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २८, बुधबार मा प्रकाशित ६ महिना अघि
  • ५ पाठक संख्या
  • देवचुली , २०८२ श्रावण २८

    देवचुली नगरपालिका वडा नम्बर ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले एसईईमा ४ जीपीए ल्याउने सिम्जना भट्टराईलाई नगद सहित सम्मान गरेको छ । एसईई २०८१ को प्रारम्भिक नतिजामा ३.९६ ल्याएकी भट्टराईले नतिजा चित्त नबुझेपछि पुनर्योगको आवेदन दिएकी थिइन् । पुनर्योगको नतिजामा ४ जीपीए आएपछी भट्टराईको परिवार सँगै विद्यालयमा खुसियाली छाएको छ ।

    भीमसेनद्वारा ४ जीपीए ल्याउने सिम्जनालाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको हो । सम्मानसँगै भट्टराईलाई बाजागाजा सहित नगर परिक्रमा गरिएको हो । विद्यार्थीहरुलाई एसईई परीक्षा सुरु हुन पुर्व नै विद्यार्थीलाई हौसलाका लागि नगदसहित सम्मान गर्ने घोषणा गरेको र पुनर्योगको नतिजामा ४ जीपीए ल्याउन सफल सिम्जनालाई १ लाख रुपैयाँँ नगद सहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताए । `विद्यालयमा ४ जीपीए ल्याउने पहिलो विद्यार्थी सिम्जनालाई मात्र होइन नतिजाले विद्यालय तथा समुदायमा खुसियाली छाएको छ,´ उनले भने ।

    विद्यालयले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रम पुगेका देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले भीमसेनको नतिजाले पालिकाको नै गौरव बढाएको बताए । देवचुलीमा एसईई २०८१ मा ४ जीपीए ल्याउने ५ जना विद्यार्थी भएको र भट्टराईलाई नगरपालिकाले समेत सम्मान गर्ने नगर प्रमुख न्यौपानेले बताए । ` पालिकाको हरेक शैक्षिक गतिविधिमा भीमसेनको नतिजा उत्कृष्ट रहेको छ, अझै सफलता पाउने गरि अगाडि बढनका लागि शुभकामना छ,´ उनले भने ।

    `३.९६ जीपीए आउँदा खुसी नै थिए तर मेहनत अनुसारको नतिजा नआउँदा पुनर्योगलाई आवेदन दिएकी थिए, नतिजामा ४ जीपीए आएपछी झन खुसी भए´ सिम्जनाले बताइन् । नतिजा ल्याउनका लागि विद्यालयका शिक्षकहरु, घर परिवारको साथ रहेको उनले बताइन् । `भीमसेनको इतिहासमै ४ जीपीए ल्याउने पहिलो विद्यार्थी बन्ने अवसर प्राप्त गर्दा यो अवस्थामा पुर्‍याउन सहयोग गर्नुहुने प्रति सम्मान व्यक्त गर्दछु, उनले भनिन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेले राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक कारणले ३.९६ जीपीए ल्याएकी सिम्जनाले पुनर्योग गर्दा ४ जीपीए नतिजा प्राप्त भएको र नतिजा विद्यालयका लागि गौरवको विषय भएको बताए । विद्यालयको सबै तहको नतिजा उत्कृष्ट आएको र सबै जनाको सहकार्यमा मात्र यस्तो नतिजा आएको उनले बताए ।

    भीमसेन आदर्श माध्यमिक विद्यालयबाट एसईई २०८१ मा ८६.५०% प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । जिल्लामै सबैभन्दा धेरै विद्यार्थी एसईईमा सहभागी भीमसेनबाट २०५ जना उतीर्ण भएका हुन् । उक्त विद्यालय एसईई परीक्षा २०८१ मा देवचुली नगरपालिकामा प्रथम भएको हो । सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएबापत विद्यार्थीलाई प्रोत्साहनका रुपमा भीमसेनद्वारा दिइएको रकम सम्भवत नेपालमै पहिलो सर्वाधिक रकम हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट