
समाचार कुञ्ज पाल्पा – रामपुर–७, कठानमा आगलागीबाट पशु चौपायासहित अन्नपात जलेर नष्ट भएको छ । स्थानीय धर्मागत रेग्मीको गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।
आगलागी परी गोठमा रहेको एक वटा पाडा मरेको छ भने दुई वटा लैनो भैंसी र एक वटा पाडा घाइते भएको प्रहरीले जनाएको छ । साथै गोठमा भण्डारण गरेर राखिएको अन्न तथा दाना समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो ।
घरमा कोही नभएको समयमा दिउँसो १२ बजेको एक्कासी गोठमा आगो सल्किएको थियो । छिमेकीले आगलागी भएको देख्नसाथ गोठ बाट भैैसी र पाडाको डाम्लो फुकाउन सफल भएका थिए । विद्युत सर्ट भएर लागेको आगो दमकलको सहयोगमा प्रहरी र स्थानीयले एक घण्टा पछि पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस