आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मंसिर १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘ छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी २०८२ ’ हुने


  • समाचार कुञ्ज
  • २०८२ भाद्र ४, बुधबार मा प्रकाशित ६ महिना अघि
  • ६ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु्र्याउने उद्देश्यले राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा मंसिर १२, १३ र १४ गते ‘ छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०८२ ’ आयोजना हुने भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग मातहत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ ( नामिया ) को संयुक्त आयोजनामा हुने प्रदर्शनी ‘ कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि ’ भन्ने मूल नाराका साथ सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । संघका अनुसार उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, डेरी, पुष्प खेती, व्यावसायिक तरकारी खेती, सिंचाई,  पोस्ट – हार्भेस्ट, कोल्ड स्टोर, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित नवीनतम प्रविधि, यन्त्र, उपकरण र बीउविजनसमेत राखिने छ ।

    यसैगरी, उक्त प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्पादक र विक्रेताहरुको सहभागिता रहने छ । उक्त प्रदर्शनीमा करिब १ सय ५० प्रदर्शनीकर्ताहरु सहभागी हुने र करिब २० वटा मुलुकका २ सय भन्दा बढी स्टलमार्फत २ हजार भन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र र प्रविधि राखिने अनुमान गरिएको छ । साथै, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरूलाई विशेष छुटको व्यवस्था समेत हुने छ । प्रदर्शनीको लागि भदौ ४ गते, बुधबार ( आज ) बाट बुकिङग् खुल्ला गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त प्रदर्शनीमा निःशुल्क अवलोकन गर्न पाउने छन् । यसअघि नेपालमा ५ पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, एक पटक प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी र एक पटक अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भईसकेको छ ।

    छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनीको उद्देश्य ;
    * कृषि यन्त्र तथा प्रविधि सम्बन्धि विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति / निर्माता, कृषि विज्ञ र कृषकहरुबीच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्न
    * उपभोक्ता तथा नीति / निर्माताहरुलाई कृषि यान्त्रिकरण सम्बन्धि नविनतम प्रविधिहरुको जानकारी गराउन
    * कृषि यन्त्र तथा उपकरणहरुको प्रचार – प्रसारमा वृद्धि गरी कृषि यान्त्रिकरण प्रवद्र्धनमा सहयोग पुर्याउन
    * व्यावसायीक कृषि प्रणाली सम्बन्धि चेतना अभिवृद्धि गर्न तथा लगानीको अवसर सिर्जना गर्न
    * कृषि यान्त्रिकरण, प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउन
    * कृषि यान्त्रिकरण व्यवसायी र उपभोक्ताहरुबीच समन्वय गर्न, आदि ।

    लक्षित प्रदर्शनीकर्ता ; 
    * कृषि औजार र उपकरणहरुको उत्पादक, उद्यमी, आयातकर्ता, वितरक, डिलर, सव – डिलरहरु तथा अन्य व्यवसायीहरु, 
    * सरकारी एवं गैर – सरकारी संघ / संस्थाहरु, 
    * कृषक समूह तथा सहकारी संस्थाहरु,
    * बैंक तथा वित्तीय संस्थाहरु, 
    * अनुसन्धानात्मक संस्थाहरु, 
    * शैक्षिक संस्थाहरु, आदि ।

    लक्षित अवलोकनकर्ता ;
    * विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरु,
    * कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाहरु,  
    * सरकारी एवं गैर – सरकारी संस्थाहरु, 
    * सर्वसाधारण जनमानस,
    * उद्यमी व्यवसायीहरु, 
    * नीति / निर्माता, आदि । 

    नेपाल कृषि मेशिनरी व्यवसायी संघ ( नामिया ) नेपालमा कृषि यान्त्रिकरण तथा प्रविधि सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरण प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले वि.स. २०७१ सालमा स्थापना भएको गैर नाफामुलक सामाजिक संस्था हो । कृषकहरुलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिहरुका बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको कृषि विभाग अन्तर्गत रहेको तत्कालिन कृषि ईन्जिनियरिङ्ग निर्देशनालयले चितवनको भरतपुरमा ‘ प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७० ’ आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको थियो । त्यसपश्चात कृषि यान्त्रिकरण प्रदर्शनीलाई निरन्तरता दिदै नेपाल सरकारको विभिन्न निकायहरु र नामियाको संयुक्त सहकार्यमा अहिलेसम्म ५ पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, एक पटक प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी र एक पटक अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भईसकेको छ ।
    विगतका आयोजना गरिएका प्रदर्शनीहरु ;
    * प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७०, भरतपुर ( चितवन ) 
    * दोस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७२, कोहलपुर ( बाँके ) 
    * प्रथम अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी – २०७३, भृकुटीमण्डप ( काठमाडौं ) 
    * तेस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७४, धरान ( सुनसरी )
    * चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७६, भरतपुर ( चितवन )
    * पाँचौ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७८, भरतपुर ( चितवन ) 
    * प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी – २०८०, पोखरा ( कास्की )

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट