
समाचार कुञ्ज बौदीकाली भदौ ,२०८२
नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई चित्रकलामार्फत संसारभर चिनाउने उद्देश्यसहित प्राज्ञ नगेन सिंह ठकुरीले नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा धार्मिक स्थल अकला देवी मन्दिरलाई क्यानभासमा उतारेका छन्।
अकला देवी मन्दिर नवलपरासी पूर्व जिल्लाको मात्रै नभई कालीगण्डकी उपत्यकाकै प्रख्यात धार्मिक तथा पर्यटकिय स्थल हो।
प्राज्ञ ठकुरीको लाईभ चित्रण कार्यक्रममा बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझा, वडा अध्यक्ष श्री श्यामसुन्दर श्रेष्ठ, श्री डेढगाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री गंगा विश्वकर्मा, राइट फर चिल्ड्रेन संस्थाका फिल्ड अफिसर श्री ऋषि राम पौडेल, श्री डेढगाउँ माध्यमिक विद्यालयका शिक्षक श्री प्रकाश बस्नेत लगायत अन्य स्थानीयहरूको समेत उपस्थिति थियो। वडा अध्यक्ष श्रेष्ठले मन्दिरको एतिहासिक तथा धार्मिक महत्व र गरिमाको बारेमा प्राज्ञ ठकुरीलाई जनकारी गराउनु हुँदै यसको प्रचारप्रसार हुने र धार्मिक पर्यटन बढ्ने आशा व्यक्त गर्नु भयो। बौदीकालि गाउँपालिका
बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझाले गाउँपालिकाको धार्मिक सम्पदा अकला देवी मन्दिर प्राज्ञ नगेन सिंह ठकुरीको क्यानभासमा पोतिनु ठूलो उपलब्धि भएको उल्लेख गर्दै यस मार्फत अकला देवी मन्दिरको गरिमा धेरै भन्दा धेरै भक्तजन समक्ष पुग्ने विश्वास व्यक्त गर्नु भयाे। वहांले प्राज्ञ ठकुरीकाे कला यात्रा मार्फत गाउँपालिकाकाे सम्पदा विश्वका धेरै मानिसहरूसम्म पुग्ने र यसले धार्मिक तथा अन्य पर्यटन भित्र्याउन ठूलो मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयाे।
प्राज्ञ नगेन सिंह ठकुरीले नेपाल लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, राष्ट्रिय निकुञ्जहरूजस्ता सम्पदा मार्फत विश्वसामु नेपाल चिनिएको भए पनि अझै ७७ वटै जिल्लामा कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदाहरूलाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गर्ने लक्ष्य रहेको जानकारी दिए। उक्त पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयहरूमा वितरण गरिने र यस अभियानमार्फत २०८६ सालसम्म १ करोड पर्यटक नेपाल भित्र्याउने उद्देश्य रहेको उनले बताए।
कला क्षेत्रमा लामो समयदेखि सक्रिय ठकुरीले हालसम्म झण्डै १५० भन्दा बढी सम्पदा स्थललाई चित्रण गरेका छन्। उहाँ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य (२०७१) रहनुका साथै २०७४ मा स्वर्ण पदक, अरनिको युवा पुरस्कार, दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कारलगायत धेरै सम्मान प्राप्त गरिसक्नुभएको छ। राष्ट्रपतिद्वारा २०८० वैशाख १ गते प्रबल जनसेवाश्री मानपदवीले समेत विभूषित भएका छन्।
कला विषयमा स्नातकोत्तर ठकुरीले १२ पटकसम्म एकल कला प्रदर्शनी गरिसकेका छन् भने देश–विदेशका थुप्रै प्रदर्शनीहरूमा सहभागिता जनाइसकेका छन्। हाल उहाँले सुरु गरेको नेपाल कला यात्रा पुस्तक प्रकाशन अभियान का लागि स्वैच्छिक सहयोग सङ्कलन भइरहेको छ, जसमा अहिलेसम्म रु. १ लाख ६० हजारभन्दा बढी सहयोग जुटिसकेको छ।

प्रतिक्रिया दिनुहोस