
समाचार कुञ्ज नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिकाले पालिका बाहिर रहेका आफ्ना नागरिकलाई पायक पर्ने गरी कावासोती नगरपालिका परिसरमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण शिविर सञ्चालन गर्ने भएको छ ।बौा गाउँपालिका जिल्लाको पहाडी पालिका हो । यहाँका धेरै नागरिकहरू शिक्षा , स्वास्थ्य तथा रोजगारका लागि जिल्लाको बजार क्षेत्र कावासोती , मध्यविन्दु , देवचुली र गैंडाकोट र हुप्सेकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नका लागि मात्रै पालिका पुग्न असहज र गाह्रो हुने नागरिकलाई लक्षित गर्दै बौदीकाली गाउँपालिकाले बुधवार देखी भदौ १८ गतेदेखि २१ गते चार दिनसम्म शिविर सञ्चालन गर्न लागेको पालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ( ९ ) र सामाजिक सुरक्षा वितरण कार्यविधि २०७७ को दफा ( ४ अनुसार ) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले प्रत्येक आर्थिक वर्षको भाद्र मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भई परिचयपत्र नवीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ । तर विभिन्न कारणवश पालिका बाहिर रहेका लाभग्राहीहरूको परिचय पत्र नवीकरण गर्न छुट नहोस् भन्ने उद्देश्यले पालिकाले सबैलाई पायक पर्ने स्थान कावासोती नगरपालिका परिसरमा शिविर सञ्चालन गर्न लागेको अध्यक्ष ओझाले बताउनुभयो ।
पालिकाका वडाहरू कतिपय विकट ठाउँमा रहेको वर्षाको समय भएकाले समेत बाटोघाटोले पनि समस्या हुने र ज्येष्ठ नागरिक तथा अशक्तहरूलाई वडा कार्यालयमै पुगेर परिचयपत्र नवीकरण गर्न असहज समेत हुने भएकाले आफ्ना नागरिकले प्राप्त गर्ने सेवालाई सरल र सहज बनाउनका लागि पनि पालिकाले नागरिकलाई पायक पर्ने ठाउँमै नविकरण शिविर मार्फत सेवा उपलब्ध गराउने निधो गरेको अध्यक्ष ओझाको भनाई छ ।
शिविरमा पालिकाबाट कर्मचारीहरू खटिने र उनीहरू मार्फत नै परिचय पत्र नवीकरण गर्नका लागि समेत अध्यक्ष ओझाले लाभग्राहीमा अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस