आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भूपू विद्यार्थी द्वारा विद्यालयलाई रु. १,००,००० (एक लाख) सहयोग


  • समाचार कुञ्ज
  • २०८२ आश्विन १२, आईतबार मा प्रकाशित ५ महिना अघि
  • १४ पाठक संख्या
  • श्री डेढगाउँ माध्यमिक विद्यालय बौदीकाली – २, नवलपरासी (पूर्व) का प्रतिभाशाली भूपू विद्यार्थी श्री तारानाथ कण्डेलले विद्यालयलाई रु. १,००,००० (एक लाख) सहयोग गर्नुभएको छ । व्यक्तिगत रूपमा यति ठूलो रकम विद्यालयलाई प्रदान गर्नु उहाँको असाधारण उदारता मात्र होइन, विद्यालय प्रतिको गहिरो माया र भावी पुस्ता प्रतिको उत्तरदायित्वको उच्च उदाहरण हो ।
    वि.सं. २०४२ सालको SLC – तेस्रो व्याचका विद्यार्थी कण्डेल उक्त विद्यालयबाट प्रथम पटक प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी हुनुहुन्छ । साथै, तत्कालीन नवलपरासी जिल्लामा प्रथम श्रेणीमा पास गर्ने जम्मा पाँच विद्यार्थी मध्येको एक हुनुहुन्थ्यो । विद्यालय र सम्पूर्ण समुदायका लागि यो विषय गौरवपूर्ण उपलब्धि को क्षण बनेको थियो ।

    विद्यालयलाई सहयोग गर्ने क्रममा कण्डेलले आफ्ना माता पिताको सम्मानमा कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउने मेधावी विद्यार्थीहरुलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउन विशेष कोष स्थापना गर्ने सोच भएको र सोहि अनुसार यो सहयोग रकम प्रदान गर्नु भएको कुरा व्यक्त गर्नु भयो ।
    सहपाठीहरू र शिक्षकहरुको सम्झना
    कण्डेलका सहपाठीहरू र अध्यापन गर्नु हुने शिक्षकहरुले उहाँलाई सधैं मेहनती, अनुशासित र निरन्तर अध्ययनशील विद्यार्थीको रूपमा सम्झिनु हुन्छ । कक्षा १ देखि १० सम्म सँगै पढेका साथीहरूको भनाइमा उहाँ पढाइमा अग्रसर मात्र होइन, अरुलाई पनि पढाइ प्रति प्रेरित गर्ने स्वभावका हुनुहुन्थ्यो । सहपाठी श्री पशुपति ओझाले कण्डेल संगको विद्यार्थी जीवनलाई स्मरण गर्दै भन्नु भयो, “कक्षा १ देखि ५ सम्म हामी पालैपालो प्रथम–दोस्रो हुन्थ्यौं । तर कक्षा ६ पछि तारानाथजीले निरन्तर प्रगति गर्दै SLC सम्मै पहिलो स्थान सुरक्षित गर्नुभयो । उहाँ जतिखेर पनि पढिरहने, मेहनती र अनुशासित विद्यार्थी हुनुहुन्थ्यो । आज उहाँले विद्यालयलाई एकलाख रुपैयाँ सहयोग गर्नु भएको छ, यो केवल आर्थिक योगदान मात्र होइन, विद्यालयप्रतिको गहिरो सम्मान र सन्देश हो, जसले हामी सबैलाई गर्वको अनुभूति गराएको छ।”
    व्यावसायिक र सामाजिक योगदान
    हाल कृषि विकास बैंक लि. बागमती प्रदेश कार्यालय, बिरेन्द्रनगर चितवनमा वरिष्ठ शाखा प्रमुख (तह ९) को जिम्मेवारी सम्हालिरहनु भएका कण्डेलले यसअघि पनि बैंकका विभिन्न शाखामा प्रबन्धकीय नेतृत्व सम्हाली सक्नु भएको छ । उहाँ पाल्पा जिल्लाको गाँडाकोटमा बुबा दुर्गादेव कण्डेल र आमा तुलसी देवी कण्डेलको सुपुत्रको रुपमा जन्मिनु भएको हो भने हाल कावासोती–२, नवलपरासी (पूर्व) मा बसोबास गर्दै आउनु भएको छ ।
    उहाँ मध्यविन्दु बहुमुखी क्याम्पसका संस्थापक सदस्य, कावासोती बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष, अर्ग्यौली सामुदायीक स्रोत पुस्तकालय डण्डाका आजीवन सदस्य, पाल्पा–नवलपरासी सम्पर्क समाज र योगी नरहरिनाथ इष्ट गौशाला वागेस्वरी देवघाटका आजीवन सदस्य हुनुहुन्छ । उहाँले विभिन्न संस्थाबाट आफ्नो पेशागत व्यवसायीक जीवनमा गरेको योगदान र सामाजिक कार्यहरुमा पुर्याउनु भएको योगदान बापत सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएको छ ।
    पेशागत तथा व्यवसायिक जीवन संग सम्बन्धित रहेर अध्ययन, अनुसन्धान तथा तालिम कार्यशालामा सहभागी हुन वहाँले थाइल्याण्ड, सिंगापुर, मलेसिया र भारतका विभिन्न सहरको भ्रमण गर्नु भएको छ ।
    विद्यालयको गौरव
    विद्यालय परिवारले कण्डेलको योगदानलाई विद्यालय इतिहासको एक गर्विलो क्षणको रूपमा लिएको छ । विद्यालयले श्री तारानाथ कण्डेल जस्ता विद्यार्थीहरुले विद्यालयलाई सहयोग गर्नु केवल आर्थिक पक्षमा मात्रै सीमित नभएर, यो विद्यालय प्रतिको आस्था र भावी पुस्ता प्रतिको उज्ज्वल लगानी हो भएको साथै यसले अन्य भूपू विद्यार्थी र समाजका शुभेच्छुकहरुलाई शिक्षा क्षेत्रमा थप योगदान दिन प्रेरणा दिएको बताएको छ । 
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट