
समाचार कुञ्ज ज्ञानु पंगेनी, असोज ३१ गते ।
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ताको २५ औँ साधारण सभा आज भएको छ ।
संस्थाका अध्यक्ष दिपकराज लम्सालको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष लम्सालले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१,०८२ मा भएको काम र आर्थिक वर्ष २०८२,०८३ को नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । आर्थिक वर्ष २०८२,०८३ का लागि ३६ बुँद नीति तथा कार्यक्रम अध्यक्ष लम्सालले प्रस्तुत गर्नुभएको थियो । जसमा मुहानदेखि ग्राहकको घरसम्म र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम समेटिएको छ । संस्थाले विगतमा लिँदै आएको शुल्क घटाएको छ । निजी तथा सामूहिक धाराको ग्राहकबाट लिँदै आएको शुल्कमा ४० रुपैयाँ मासिक घटाएर निजीको १० हजार लिटर रुं ५० र सामूहिक ३० हजार लिटरको रु. १५० रुपैयाँ कायम गरिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।
यस्तै यसै वर्षदेखि आन्तरिक तथा सरकारको सहलगानीमा श्रोत जुटाई ल्याब निर्माण गरी आफ्नै ल्याबमा पानी परिक्षण गरिने व्यवस्था मिलाउने , सेवा क्षेत्र भित्रका आवश्यक स्थान पहिचान गरी सार्वजनिक शौचालय निर्माण गर्ने , ६ महिनाभन्दा अधिक समय महशुल भुक्तान नगर्ने उपभोक्ताहरूको सेवा बन्द गरी बाँकी बक्यौता असुल उपर गरिने र पानीको चुहावट , चोरी , दुरुपयोग हुन सक्ने अवस्थालाई निरुत्साहित गर्ने निती लिएको उहाँले बताउनुभयो । यसैगरी संस्थाले ठहराएको क्षेत्रमा युवा लक्षित सचेतना कार्यक्रम समावेश गरी एक वडा एक कार्यक्रम लाई निरन्तरता दिइने , अनलाइन प्रणाली मार्फत महशुल भुक्तानी गर्ने कार्यलाई प्रभावकारी बनाउने , सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयले भुक्तानी गर्ने पानी महशुलमा ५० प्रतिशत अनुदान दिने व्यवस्थालाई निरन्तरता दिदैँ यस वर्षबाट समता स्कुललाई पनि यस कार्यमा समेटिएको अध्यक्ष लम्सालले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेल , गण्डकी प्रदेश सभाका पूर्व सदस्य विष्णु प्रसाद लामिछाने , कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसाल , पूर्व सल्लाहकारद्वय महेन्द्र पोख्रेल , शिव प्रसाद भट्टराई , कावासोती वडा नं तीनका अध्यक्ष डोरमान गिरी , पूर्व उपाध्यक्ष रमिला भुजेल , नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य केबी राना , नवलपुरका अध्यक्ष श्रीराम सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त दुई जना कर्मचारीहरु ठाकुर प्रसाद शर्मा र थानेश्वर तिवारीलाई सम्मान गरिएको थियो । भने उत्कृष्ट कर्मचारीमा डोलराज वस्ताकोटीलाई सम्मान गरिएको छ । भने कार्य क्षेत्र भित्रका वडा नम्बर २ , ३ , ५ , ६ , ८ र ९ का एक वर्षमा बढी महशुल बुझाउने उपभोक्ताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष विन्दु ढकालले स्वागत तथा सचिव ज्ञानेन्द्र न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस