
समाचार कुञ्ज कावासाेती
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) हुने केन्द्र आसपास अनधिकृत व्यक्तिहरूले अवैध रूपमा पार्किङ शुल्क असुली गर्दै आएका छन्। ट्रायल दिन आएका सेवाग्राहीहरू सार्वजनिक तथा खुला स्थानमा सवारी साधन पार्क गरेबापत समेत बाध्य भएर शुल्क तिर्नुपरेको गुनासो गरेका छन्।
सेवाग्राहीका अनुसार ट्रायल सेन्टर नजिकैका सडक किनार, खाली जग्गा तथा सार्वजनिक स्थानहरूमा पार्किङ गर्दा समेत आफूहरूबाट जबर्जस्ती रकम असुल्ने गरिएको छ। शुल्क नतिरे सवारी साधनमा क्षति पुर्याउने, दुर्व्यवहार गर्ने डर देखाइने गरेको उनीहरूको भनाइ छ।
सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगर्दा यस्तो अवैध असुली दिनानुदिन मौलाउँदै गएको सेवाग्राहीहरू बताउँछन्। ट्रायल दिन आउने अधिकांश सेवाग्राही बाहिरी जिल्लाबाट आउने भएकाले वैकल्पिक उपाय नहुँदा उनीहरू अवैध शुल्क तिर्न बाध्य भएको गुनासो बढ्दै गएको छ।
यस विषयमा स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय तथा सुरक्षानिकायको ध्यानाकर्षण गराउँदै अवैध पार्किङ शुल्क असुलीमा संलग्न व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न माग गरिएको छ। साथै ट्रायल सेन्टर आसपास व्यवस्थित र निशुल्क पार्किङको व्यवस्था गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस