
समाचार कुञ्ज उत्खनन सुरु भए हुप्सेकोट मात्र होइन, देशकै समृद्धिमा टेवा पुग्छ : तिलक महत
नवलपुर ।
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेले आफ्ना राजनीतिक गतिविधि तीव्र बनाएको छ। एमालेका उम्मेदवार तिलक महतको विजय सुनिश्चित गर्ने उद्देश्यसहित पार्टीले जनस्तरसम्म पुग्ने कार्यक्रमलाई व्यापक बनाएको हो।
पार्टी सम्पर्क कार्यालय उद्घाटनदेखि विकासका एजेन्डा र आगामी योजनाबारे मतदातालाई सुसूचित गराउने कार्यमा उम्मेदवार महत यतिबेला व्यस्त देखिनु भएको छ। यसै क्रममा सोमबार हुप्सेकोट गाउँपालिकाको झ्यालबासमा पार्टी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। यसअघि वडा नम्बर १ को बेलुवा, २ को कोलिया, ३ को गिरुवारी तथा वडा नम्बर ४ को झ्यालबास र शंखदेवमा समेत पार्टी सम्पर्क कार्यालय उद्घाटन भइसकेका छन्।
उक्त कार्यक्रममा बोल्दै एमालेका उम्मेदवार तिलक महतले एमालेकै पहलमा अघि बढेको धौवादी फलाम खानीको अन्वेषण तथा उत्खनन योजना हुप्सेकोट, नवलपुर र समग्र देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुने बताउनुभयो। अनुसन्धानको चरण पूरा भइसकेकाले अब एमालेको नीति अनुसार खानी सञ्चालन गरी देशको आर्थिक विकासमा योगदान पुर्याइने उहाँको भनाइ थियो।
फलाम खानीको उत्खनन सुरु भए स्थानीय स्तरमै सयौँ युवालाई रोजगारी सिर्जना हुने उल्लेख गर्दै महतले त्यसका लागि आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “नवलपुरको समृद्धि र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर मेरो कार्यदिशा अघि बढ्नेछ,” उहाँले भन्नुभयो।
हाल धौवादी फलाम खानीसम्म पुग्न सडक निर्माण र विद्युत् विस्तारको काम तीव्र रूपमा भइरहेको जानकारी दिँदै महतले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त परियोजना अघि बढेको स्मरण गराउनुभयो। स्वास्थ्य क्षेत्र सुधार र पूर्वाधार विकासका क्रममा हुप्सेकोटमा विभिन्न योजनाहरू कार्यान्वयन भएको उहाँको दाबी थियो।
कार्यक्रममा सहभागी हुप्सेकोटका मतदाताहरूले धौवादी फलाम खानीको योजना एमालेले अघि बढाएकाले यसको सफल उत्खनन र दिगो रोजगारी सिर्जनाका लागि पनि एमालेकै नेतृत्व आवश्यक रहेको धारणा राखे। उनीहरूले उम्मेदवार तिलक महतको विजयका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस