
समाचार कुञ्ज नवलपुर। नवलपुर क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढिरहेका बेला गैंडाकोटमा जेनजी (Gen Z) युवाहरूको ठूलो समूह नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेको छ। करिब तीन सय जना युवाहरू पार्टीमा आबद्ध भएको एमाले गैंडाकोट नगर अध्यक्ष कृष्ण कण्डेल ले जानकारी दिनुभयो।
उनीहरूलाई स्वागत गर्दै नवलपुर–१ का उम्मेदवार भागिरथ सापकोटा ले युवाहरूलाई पार्टीसँग जोडिन प्रेरित गर्नुभयो। कार्यक्रममा एमालेका नेता कृष्ण पौडेल लगायत स्थानीय नेताहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा नवप्रवेशी युवाहरूले विकास, रोजगारी सिर्जना र स्थायित्वमुखी योजनाबाट प्रभावित भएर एमाले रोजेको बताएका छन्। “हामी परिणाममुखी राजनीति चाहन्छौं। देशमै अवसर सिर्जना गर्ने स्पष्ट योजना भएकाले एमालेमा आएका हौं,” एक सहभागी युवाले भने।
सापकोटाले जेनजी पुस्ताको साथले चुनावी अभियान थप उत्साहित बनेको बताउनुभयो। “आजको युवा पुस्ता सचेत र जिम्मेवार छ। युवालाई विनाशतर्फ होइन, विकास र नवप्रवर्तनतर्फ अग्रसर गराउनु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।
उम्मेदवार सापकोटाले नवलपुर–१ लाई रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्यका दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय उत्पादनको बजारीकरण, सहुलियत ऋणमार्फत युवा उद्यम प्रवर्द्धन, र डिजिटल सीप विकास केन्द्र स्थापना गर्ने योजनासमेत अघि सार्नुभएको छ।
उहाँका अनुसार, विगतमा तुलनात्मक रूपमा कमजोर रहेको बुलिङटार र गैंडाकोटबाट यसपटक एमालेले पहिलो दलको रूपमा आफ्नो उपस्थिति दर्ज गर्ने तयारीमा छ। साथै, भ्रम फैलाउने प्रयासका बाबजुद युवाहरूले आफ्नो निर्णय विकास र अवसरको आधारमा गरेको बताइएको छ।
गैंडाकोटमा देखिएको जेनजी युवाहरूको उल्लेख्य सहभागिताले यसपटक नवलपुर–१ मा एमालेको विजय सुनिश्चित हुने विश्वास नेताहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस