आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

गण्डकी बोर्डिङ स्कूल पोखरा र डेढगाउँ माध्यमिक विद्यालय बौदीकाली, डेढगाउ बिच सिकाइ साझेदारी कार्यक्रम


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १५, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ५ पाठक संख्या
  • असार १५

    गण्डकी बोर्डिङ स्कूल पोखरा र डेढगाउँ माध्यमिक विद्यालय बौदीकाली, डेढगाउ बिच सिकाइ साझेदारी कार्यक्रम अन्तर्गतको पहिलो चरणको छलफल कार्याशाला सम्पन्न

    अन्तरविद्यालय सिकाइ साझेदारी कार्यक्रम अन्तर्गत बौदीकाली गाउँपालिका वडा नं. २ को डेढगाउँ माध्यमिक विद्यालयले गण्डकी बोर्डिङ स्कूल, पोखरासँग सिकाइ साझेदारी कार्यक्रम प्रस्ताव गरी उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणको औपचारिक छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    विद्यालयका सम्पुर्ण शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघ र द क्लब हन्ड्रेड पदाधिकारी, साथै विद्यालय सँगको सिकाइ परियोजना सहयोगी संस्था Right4children संस्थाका तर्फबाट फिल्ड सुपरभाइजर श्री ऋषि राम पौडेल, बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझा, वडा नं. २ अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक श्री श्याम सुन्दर श्रेष्ठ, शिक्षा शाखा प्रमुख श्री जीवलाल भुसाल, गाउँ शिक्षा समिति सदस्य श्री होमनाथ भट्टराईको उपस्थिति रहेको थियो । कार्यक्रममा गण्डकी बोर्डीङ स्कुल पोखराको तर्फबाट सिनियर म्यानेजमेन्ट टिमको माध्यमिक तह सुपरभाइजर श्री सान्त बहादुर विश्वकर्मा उपस्थित हुनु हुन्थ्यो । 

    छलफलका क्रममा दुबै पक्षबीच शिक्षामा गुणात्मक सुधार ल्याउने उपायहरू, सिकाइका उत्कृष्ट अभ्यासहरूको आदानप्रदान, शिक्षकहरूको क्षमता अभिवृद्धि, विद्यार्थी केन्द्रित गतिविधिहरू, प्रविधि समावेशी शिक्षण सिकाइ विधिहरू तथा दीर्घकालीन सहकार्यका सम्भावनाहरूका विषयमा गहिरो विचार विमर्श भएको थियो ।

    बौदीकाली गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि श्री प्रकाश ओझा ज्यूले कार्यक्रमलाई गाउँपालिकाको समग्र शैक्षिक सुधार अभियानको एक महत्वपूर्ण कोसेढुंगाको रुपमा उल्लेख गर्दै गण्डकी बोर्डिङ स्कूलसँगको सहकार्यबाट डेढगाउँ माध्यमिक विद्यालयमा उल्लेखनीय गुणात्मक काम हुने र विद्यार्थीहरुको लागि प्रशस्तै सिकाई सम्भावनाको अवसरहरु सृजना हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले साझेदारी कार्यक्रमलाई समावेशी, सशक्त र दीगो बनाउँदै लैजान गाउँपालिकाको तर्फबाट सधै सहयोग हुने प्रतिबद्धता समेत जनाउनुभयो ।

    सामाजिक विकास समिति संयोजक एवम् २ नम्बर वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठले शिक्षालाई सामाजिक रूपान्तरणको आधार भन्दै यस्तो साझेदारी कार्यक्रमहरूले विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा ठोस टेवा पुर्याउने धारणा राख्नुभयो । उहाँले विद्यालयमा सिकाइ केन्द्रित वातावरण सिर्जना गर्न सबै तहका सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

    बौदीकाली गाउँपालिका शिक्षा शाखा प्रमुख श्री जीवलाल भुसालले गाउँपालिकाको समग्र शैक्षिक योजना, गुणस्तरीय शिक्षाको लक्ष्य तथा शिक्षक दक्षता वृद्धिको आवश्यकता माथि प्रकाश पार्दै गण्डकी बोर्डिङ स्कूलसँगको सहकार्यले अनुभवको आदानप्रदान र व्यावहारिक उपायमार्फत उल्लेखनीय सुधार सम्भव हुने बताउनुभयो । उहाँले यस्तो सिकाई अनुभव आदान प्रदानको कार्यक्रम कमै हुने हाम्रो परिप्रक्ष्यमा यस्ता कार्यक्रम लाई आगामी दिनमा निरन्तरता दिई अन्य विद्यालयसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    छलफल कार्यक्रम दुई सत्रमा विभाजित गरिएको थियो ।
    • पहिलो सत्र (विहान ७:०० देखि ९:०० बजे): विषयगत रुपमा शिक्षकहरू विभाजन भइ समूहगत छलफल सम्पन्न भयो । यस सत्रमा विषयगत रुपमा विभिन्न शैक्षिक विषयहरूमा शिक्षकहरूबीच अनुभव आदानप्रदान तथा नविन अभ्यास, परीक्षा तथा मुल्याङ्कन, आगामी कार्ययोजना बारे गहिरो छलफल भयो ।
    • दोस्रो सत्र (१०.००-३.००): गण्डकी बोर्डिङ स्कूल पोखराका प्रतिनिधिद्वारा विद्यालयमा प्रचलित उत्कृष्ट अभ्यासहरूको प्रस्तुति दिइयो, जसपछि सहभागिहरूबीच खुला छलफल तथा प्रश्नोत्तर कार्यक्रम सम्पन्न भयो ।

    उक्त कार्यक्रमको समापन सत्रमा शिक्षक अभिभावक संघ अध्यक्ष श्री यादव प्रसाद ओझा, गाउँ शिक्षा समिति सदस्य श्री होमनाथ भट्टराईले दुइ विद्यालय विचको सिकाई साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।  

    कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वालप्रसाद ठाडाको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने कार्यक्रमको मोडरेटेरको रुपमा विद्यालयका ११-१२ संयोजक शिक्षक श्री जीवन पाण्डेले सहजीकरण गर्नु भएको थियो । 

    कार्यक्रममा विद्यालय प्रधानाध्यापक श्री गंगा विश्वकर्माले गण्डकी बोर्डिङ स्कूल पोखरा सँगको सिकाइ साझेदारी कार्यक्रमको बारेमा अवधारणा प्रस्तुत गर्नु भएको थियो।

    कार्यक्रमको दोस्रो चरणमा विद्यालयले विषयगत शिक्षकहरूको समूह तयार पारी गण्डकी बोर्डिङ स्कूल स्थलगत भ्रमण र अध्ययन गरी विषयगत शिक्षकहरू सँगको छलफल पश्चात कुन कुन पक्ष र विषयहरुमा सिकाइ सहकार्य गर्ने हो सो बारेमा निष्कर्ष निकालिने र त्यस पश्चात सरोकारवाला सँगको छलफल गरी आवश्यक निष्कर्षमा पुगिने छ। अनुशरण गर्न सकिने राम्रा अभ्यास हरुलाई तत्कालै लागू गरिने समेत कार्यक्रम जनाकारी गराइएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट