
समाचार कुञ्ज साउन , कावासोती ।
सिद्धार्थ आवासिय मा.वि.कावासोतीको पूर्व विद्यार्थीले लोकसेवाको ५ वटा लिखित परीक्षामा एकै पटक नाम निकाल्न सफल हुनुभएको छ ।नवलपुरको कावासोती नगरपालिका वडा नं १ कि अस्मिता लम्सालले गत वर्षको माघ र फागुन महिनामा भएका संघीय लोकसेवा आयोग तथा प्रदेश लोकसेवा आयोगले सन्चालन गरेका फरक फरक ५ वटा परीक्षा दिएकोमा पाँचै वटामा नाम निकाल्न सफल हुनुभएको हो ।
सानै उमेरदेखि पढाईमा लगनशील अस्मिताले कावासोती ३ मा रहेको सिद्धार्थ आवासिय मा.वि.वाट २०७१ सालको एसएलसि परिक्षामा सम्मिलित भई ८५ प्रतिशत नतिजाका साथ उत्तिर्ण भएको विद्यालयका संस्थापक प्रिन्सिपल भोजराज दाहालले जानकारी दिनुभयो ।
“सिद्धार्थबाट पास आउट भएका धेरै विद्यार्थी विभिन्न क्षेत्रमा आँफुलाई अब्बल रुपमा स्थापित गर्न सफल भएका प्रशस्त उदाहरणहरु छन्” विद्यालयका प्रिन्सिपल दाहालले भन्नुभयोः “त्यसमध्ये पनि अस्मिताको यो उपलब्धिले विद्यालयको गरिमालाई अझ उचो बनाएको छ ।”
हाल वाग्मती गाउँपालिकामा भेटेनरी प्राविधिक सहायकमा कार्यरत उहाले नवलपुरको कावासोतीमा रहेको सिद्धार्थ आवासिय माध्यमिक विद्यालयबाट एसएलसि र चितवनको वाल्मीकि शिक्षा सदनबाट कक्षा १२ सम्मको अध्ययन उतिर्ण गरेर त्रिभुवन विश्वविद्यालयको कृषि एवं पशु विज्ञान अध्ययन संस्थानको पक्लिहवा क्याम्पसबाट पशु विज्ञान तथा पशुपालनमा स्नातक तह उतिर्ण गर्नुभएको हो ।
लम्सालले संघिय लोक सेवा आयोगले गत वर्षको माघमा सन्चालन गरेको रा.प.तृतीय पशु चिकित्सक, प्रदेश लोकसेवा आयोग वाग्मतीले गत वर्षको माघमा सन्चालन गरेको आठौं तहको पशु चिकित्सक र पशु अधिकृत, प्रदेश लोकसेवा आयोग कोशीले गत वर्षको फागुनमा सन्चालन गरेको सातौं तहको पशु विकास अधिकृत र सातौं तहको पशु चिकित्सकको लिखित परीक्षामा नाम निकाल्नुभएको हो । यी सबै परीक्षाको नतिजा यसै साता मात्रै प्रकाशित भएका हुन ।
एकै पटक पाँच ठाउँको लिखित परीक्षामा नाम निकालेकी अस्मिताले यति बेला भने आँफु अन्तर्वार्ताको तयारीमा जुटेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस