
समाचार कुञ्ज बसन्त न्यौपाने
मध्यबिन्दु । अम्रसा सामुदायिक वन समूहको आयोजनामा महिला तथा पुरुष लक्षित सात दिने नेतृत्व विकास, प्रभावकारी वक्तृत्व तथा उद्घोषक तालिम शनिबार सम्पन्न भएको छ। दक्ष उद्घोषक उत्पादन गर्ने र महिला-पुरुषमा नेतृत्व विकास गर्ने उद्देश्यले मध्यबिन्दु नगरपालिका–७, अम्रसास्थित सैनिक भवनमा तालिम सञ्चालन गरिएको हो।
जेठ २५ गतेदेखि सुरु भएको तालिमको समापन कार्यक्रममा सभाध्यक्ष लालबहादुर मल्लले ७ दिनको तालिमले सहभागी महिलाहरूमा उल्लेख्य परिवर्तन आएको धारणा व्यक्त गर्नुभयो। उहाँले सिकाइलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाकी उपप्रमुख पूर्णकला चौधरी रहनुभएको थियो। विशेष अतिथिको रुपमा वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर मल्ल तथा मध्यबिन्दु–७ अम्रसाका विभिन्न टोल संयोजकहरूको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा प्रशिक्षार्थी , राजु बिष्ट, दिवाना सोती मगर, ददिराम सापकोटा लगायतले तालिमले आफूहरूमा धेरै सकारात्मक परिवर्तन ल्याएको र भविष्यमा थप क्रियाशील भएर अगाडि बढ्ने हौसला मिलेको बताएका थिए। सहभागीहरूले आलोपालो कार्यक्रम सञ्चालन गर्दै स्वागत मन्तव्य र अनुभव समेत प्रस्तुत गरेका थिए।
तालिममा गण्डकी स्किल लर्निङ एकेडेमीले सहजीकरण गरेको थियो भने किरण भुर्तेल, निरु गौतम, सुदीप चापागाईं लगायत प्रशिक्षकहरूले अभ्यासमुलक तालिम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस