आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

तनहुँ–२ का मतदाता भन्छन्ः ‘पाहुनालाई भात खुवाउने हो, भोट दिने हैन’


  • समाचार कुञ्ज
  • २०८२ फागुन १४, बिहिबार मा प्रकाशित ३ दिन अघि
  • १३ पाठक संख्या
  • तनहुँ । फागुन १४

    मौसमसँगै चुनावी माहौल पनि देशभर तात्दै गएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरु मतदातालाई भेट्न दौडाहामा छन् । चुनावी माहौल तातिँदै जाँदा मतदाताहरूले उम्मेदवारप्रति कडा सन्देश दिन थालेका छन् । घरदैलो कार्यक्रम र भेटघाटका क्रममा स्थानीयले खुलेरै भन्न थालेका छन्–‘पाहुना उम्मेदवारलाई मिठो खाना खुवाएर पठाउने हो, भोट दिने होइन ।’

    तनहुँको क्षेत्र नम्बर २ मा यतिबेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मत मागिरहेका छन् । तर स्थानीय बासिन्दाहरू भने यसपटक विगतको कामको मूल्याङ्कन गरेर मात्र मतदान गर्ने अडानमा देखिन्छन् । भिमादका एक मतदाताले भने, ‘उम्मेदवार आउँदा स्वागत गर्नु हाम्रो संस्कार हो । तर चुनाव जितेपछि पाँच वर्षसम्म नदेखिने हो भने भोट किन दिने ?’ त्यस्तै शुक्लागन्डकीका अर्का मतदाता भन्छन् ‘पाहुनलाई एक छाक मिठो खाना खुवाएर पठाउने हो, तर भोट दिन सकिन्न ।’ उनले भने ‘यस अघि कुनै योगदान नभएका उम्मेदवारलाई भोट दिन सकिँदैन ।’

    स्थानीय मतदाताहरुले ‘भोट कामलाई, पाहुना र नातालाई होइन’ भन्ने अभियान चलाइरहेका छन् । उनीहरूका अनुसार अब विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत मुद्दालाई केन्द्रमा राखेर मात्र निर्णय लिने समय आएको छ । तनहुँ–२ का मतदाता राजकुमार श्रेष्ठले भने ‘पाहुना आए सत्कार गरिन्छ, तर भोट भने जिम्मेवारी, पारदर्शिता र कामका आधारमा मात्रै दिइनेछ ।’ खैरेनीटारका एक मतदाताले भने ‘उम्मेदवार घरमा आउँदा सत्कार गर्नु हाम्रो संस्कार हो । तर भोट भने स्थानीयलाई र काम हेरेर मात्रै दिन्छौं ।’

    तनहुँ क्षेत्र नम्बर २ मा यसपटक मुख्य राजनीतिक दलबाट २ जना पाहुना (टुरिष्ट) उम्मेदवार छन् । नेपाली काँग्रेसका शंकर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने दुबै जनालाई तनहुँ क्षेत्र नम्बर २ का मतदाताले पाहुनाको रुपमा हेरेका छन् । उनीहरु दुबै घर क्षेत्र नम्बर १ अन्तर्गतको भानु नगरपालिका हो । उनीहरु दुबै जनाले आफुलाई मत दिन पाउँदैनन् । नेकपा एमालेका उम्मेदवार केदार सिग्देल साविक किहुँ गाविस हाल भिमाद नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । जिन्दगीभर तनहुँ क्षेत्र नम्बर २ को समस्या समाधान र विकास प्रति सँधै दत्तचित्त भएर लागिरहने सिग्देल प्रति त्यस क्षेत्रका मतदाता स्वभाविक रुपमा प्रभावित छन् ।

    सिग्देल यसअघि २०७४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएका थिए । २०७४ देखी २०७९ सम्म प्रतिनिधि सभा सदस्य रहँदा सिग्देलले तनहुँ क्षेत्र नम्बर २ को विकास कार्यमा उल्लेख्य योजना र बजेट विनियोजन गर्न सफल भएका थिए । सिग्देलको पहलमा जिल्लास्तरीय सडकको रुपमा रहेको भिमकाली सडकलाई राष्ट्रिय राजमार्गमा स्तरोन्नति÷कृष्णमार्ग, श्रृङ्गपथ र सृजनामार्गलाई एकीकृत गरी गाईघाट–गल्याङ वैकल्पिक राजमार्गको रुपमा विकास गरिएको थियो ।

    त्यसैगरि सिग्देलकै पहलमा ढोरवाराही मार्ग (दुलेगौडा–ढोरफिर्दी–साँखे–सालडाँडा–विरुवा रामपुर) र झापुटार–चालिसे सहायक राजमार्ग दुईवटा सडकलाई रणनीतिक सडकको रुपमा स्तरोन्नति गराई बजेट वृद्धि गरिएको थियो । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकलाई चार लेनमा विस्तार गराउन संसदको विकास तथा प्रविधि समिति मार्फत पहल पनि सिग्देलले गरेका थिए । उक्त सडक हाल सम्पन्न हुने चरणमा रहेको छ ।

    त्यसैगरि सिग्देलको पहलमा खैरेनीटार–भिमाद–कावासोती सडकअन्तर्गत खैरेनी–भिमाद सडक खण्ड विस्तार एवम् कालोपत्रेका लागि संघीय सरकारबाट बजेट विनियोजन गराई निर्माण कार्य सम्पन्न भएको थियो । त्यस बाहेक शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको क्षेत्रमा पनि उल्लेख्य काम भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट