आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

सिकाइ असम्भव होइन, हाम्रो दृष्टिकोण बदलिनुपर्छ


  • समाचार कुञ्ज
  • २०८३ श्रावण २७, बुधबार मा प्रकाशित १ मिनेट अघि
  • ३ पाठक संख्या
  • जिवलाल भुसाल :एक दिन बिहान म पुस्तक पढ्दै थिएँ। मेरी सानी छोरी (१७ महिनाकी) नजिकै आइन्। उनले मेरो हातमा रहेको पुस्तक हेरिन् र मागिन्। मैले दिइनँ। नजिकै पुस्तकको र्‍याक थियो, उनी त्यसतर्फ लागिन्। र्‍याकबाट पुस्तक निकाल्ने प्रयास गरिन् तर उनको उचाइ पुगेन। फेरि प्रयास गरिन्, फेरि असफल भइन्। मैले केही भनिनँ, म केवल उनका गतिविधि निहालिरहेको थिएँ।

    केही क्षणपछि उनको नजर छेउमै रहेको एउटा मुढामा पर्‍यो। उनी दौडेर गइन्, मुढा तानेर र्‍याकअगाडि ल्याइन्, त्यसमा चढिन् र सहजै पुस्तक निकालिन्। पुस्तक हातमा परेपछि उनी खुसीले चिच्याउँदै मसँग आइन् र पुस्तकका पानाहरू पल्टाउन थालिन्।

    भने केहीबेर सोचमग्न भएँ। उनलाई कसैले “मुढा तानेर चढ” भनेर सिकाएको थिएन। त्यो उपाय कहाँबाट आयो? त्यति नै बेला मनमा कुरा खेल्यो—उनले समस्या देखिन्, सम्भावित समाधान खोजिन्, परीक्षण गरिन् र सफल भइन्। त्यो क्षणमा मैले एउटी सानी बालिकामा समस्या समाधान गर्ने अद्भुत क्षमता प्रत्यक्ष देखेँ।

    केही दिनपछि अर्को घटना भयो। साँझतिर उनले बाहिर घुम्न जाने इच्छा गरिन्। उनको इच्छालाई बुझेर मैले स्कुटरमा घुमाउने निधो गरेँ। म स्कुटर स्टार्ट गर्न खोज्दै थिएँ, त्यति नै बेला उनले “ड्याडी” भन्दै आफ्नो हात टाउकोमा लगिन्। उनले त्यो सङ्केत तीन-चार पटक दोहोर्‍याइन्। उनी दोहोरो संवाद गर्न सक्ने भएकी छैनन्। सुरुमा मैले उनको आशय बुझिनँ। एकछिनपछि बल्ल सम्झिएँ—मेरो टाउकोमा हेल्मेट थिएन। मैले हेल्मेट लगाएँ। त्यसपछि उनले मुस्कुराउँदै अगाडि बढ्न सङ्केत गरिन्।

    त्यो क्षण फेरि मेरो मनमा अर्को प्रश्न उठ्यो—हेल्मेट लगाउनुपर्छ भन्ने कुरा उनले कसरी सिकिन्?

    यी दुई घटना सुन्दा सामान्य लाग्न सक्छन्, सबैले भोगेका पनि हुन सक्छन्। तर, यिनै घटनाहरूले मलाई एउटा गहिरो सत्य सम्झाए—बालबालिका सिक्नका लागि नै जन्मेका हुन्छन्। उनीहरू निरन्तर हेर्छन्, सुन्छन्, तुलना गर्छन्, निष्कर्ष निकाल्छन् र आफ्नै अनुभवबाट नयाँ ज्ञान निर्माण गर्छन्।

    शिक्षा प्रशासनमा काम गर्ने भएकाले म कहिलेकाहीँ फुर्सद मिलाएर विद्यालयमा पुग्ने गर्छु। बालबालिकालाई भेट्ने, उनीहरूका कुरा सुन्ने अनि आफ्ना कुराहरू उनीहरूसँग राख्ने गर्छु। बालबालिकाको सिकाइका सम्बन्धमा शिक्षकहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्छु। कहिलेकाहीँ शिक्षककै उपस्थितिमा विद्यार्थीहरूलाई सामान्य प्रश्न सोध्दा कतिपयले उत्तर दिन सक्दैनन्। त्यतिबेला छेउमा उभिएका शिक्षकको प्रतिक्रिया आउँछ, “यो विद्यार्थी केही जान्दैन सर। यसले सिक्दै सिकेन। जति सिकाए पनि जानेन।”

    यस्तो प्रतिक्रिया सुन्दा मेरो मनमा अनेकौँ तर्कहरू खेल्न थाल्छन्। के साँच्चै कुनै बालबालिका “केही पनि नजान्ने” हुन सक्छन्? कि हामीले उनीहरूले जानेका कुरा देख्न सकिरहेका छैनौँ? उनीहरूले कसरी सिक्छन् भन्ने बुझ्न सकेका छैनौँ? उनीहरूलाई सिक्ने उपयुक्त अवसर, समय र विधि दिन सकेका छैनौँ?

    मलाई लाग्छ—समस्या बालबालिकाको सिक्ने क्षमतामा भन्दा बढी हाम्रो दृष्टिकोणमा छ। जब हामी कुनै विद्यार्थीलाई “यसले सक्दैन” भन्ने निष्कर्षमा सतही रूपमा छिट्टै पुग्छौँ, त्यही क्षणदेखि उसको सम्भावनामाथिको हाम्रो विश्वास समाप्त हुन थाल्छ। विश्वास हराएपछि प्रयास कम हुन्छ, अनि प्रयास कम भएपछि सिकाइ पनि कमजोर बन्छ।

    त्यसैले आजको सबैभन्दा ठूलो प्रश्न “विद्यार्थीले किन सिकेन?” भन्ने होइन। बरु प्रश्न यो हो—हामीले उसलाई सिक्ने अनुकूल वातावरण दियौँ कि दिएनौँ? उसको सिक्ने तरिका बुझ्यौँ कि बुझेनौँ? र सबैभन्दा महत्त्वपूर्ण, उसले सिक्न सक्छ भन्ने विश्वास हामीले गर्‍यौँ कि गरेनौँ?

    सिकाइका सन्दर्भमा प्रसिद्ध मनोवैज्ञानिकहरू (Jean Piaget, Lev Vygotsky र Carol Dweck) ले प्रस्तुत गरेका तर्कहरू हाम्रो परिवेशमा पनि उत्तिकै सान्दर्भिक छन्। Piaget ले बालबालिकाले आफ्नै अनुभवबाट ज्ञान निर्माण गर्ने कुरा बताएका छन्। Vygotsky ले सामाजिक अन्तरक्रिया र सहयोगबाट सिकाइ समृद्ध हुने तर्क प्रस्तुत गरेका छन्। Dweck ले क्षमता स्थिर नभई प्रयास, उचित सहयोग र सकारात्मक अपेक्षाले विकास हुने विचार व्यक्त गरेकी छन्। यी तीनै जना मनोवैज्ञानिकका दृष्टिकोणले एउटै स्पष्ट सन्देश दिन्छन्—बालबालिकाले सिक्न सक्छन्।

    बालबालिकाले सिक्न सक्छन् भने सिकाउन किन सकिँदैन त? हो, बालबालिकाले सिक्न सक्छन्, तर त्यसका लागि सिकाउनेहरूलाई उनीहरूले कसरी सिक्छन् भन्ने थाहा हुनुपर्छ। के हामीले उनीहरूले सिक्न सक्ने गरी सिकाउने कोसिस गरेका छौँ त? कि हामी उनीहरूलाई जबर्जस्ती सिकाउन खोज्दा असफल भइरहेका छौँ? त्यसैले अब शिक्षक तथा अभिभावकले सोच्नुपर्ने भएको छ—हामीले के सिकायौँ, कसरी सिकायौँ, विद्यार्थीले कति सिक्नुपर्थ्यो, कति सिके, कसरी सिके र किन सिकेनन्?

    प्रसिद्ध शिक्षाविद् रुसोले भनेका छन्, “शिक्षकले विद्यार्थीको पाना-पाना पढ्नुपर्छ।” अर्थात् शिक्षकले विद्यार्थीको समग्र पक्षको जानकारी लिनुपर्छ। उसको सिकाइ क्षमता कस्तो छ, उसको रुचि केमा छ, पारिवारिक अवस्था, व्यक्तिगत स्वास्थ्य, साथीसङ्गतलगायतका अन्य पक्ष। के हामीले यी विषयलाई प्राथमिकतामा राखेका छौँ? के हामीले विद्यार्थीको ‘समग्र पक्षको विश्लेषण’ (Overall evaluation) गरेका छौँ त?

    मलाई लाग्छ, हामी विद्यार्थीलाई सिकाउने प्रयत्न गर्छौँ, अनि जब हाम्रो प्रयत्नले काम गर्दैन, तब भनिदिन्छौँ—”यो विद्यार्थी जान्दैन”, “यसले सक्दैन” वा “यसको क्षमता छैन”। के हामी सम्भावित सबै प्रयत्न असफल भएपछि मात्र यो निष्कर्षमा पुगेका हौँ? कि सतही रूपमा गरिएका एक-दुई प्रयास असफल हुनासाथ यो निष्कर्ष निकालेका हौँ?

    बालबालिकाको सिकाइका सन्दर्भमा गहन अध्ययन र विश्लेषणविना निष्कर्षमा पुग्न हतारिनु हुँदैन। बरु आफैँलाई प्रश्न गर्नुपर्छ—के हामीले उसको सिक्ने शैली बुझ्यौँ? के हामीले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना गर्‍यौँ? के हामीले पर्याप्त समय, सहयोग र विश्वास दियौँ?

    अन्तमा, विद्यार्थीको सिकाइको गति ढिलो वा छिटो हुन सक्छ, सिकाइको तरिका फरक हुन सक्छ, तर सिकाइ कहिल्यै असम्भव हुँदैन। असम्भव त कहिलेकाहीँ हाम्रो दृष्टिकोण बनिदिन्छ। त्यही सङ्कुचित दृष्टिकोणले सिकाइलाई जटिल बनाइदिन्छ र विद्यार्थीलाई ‘कमजोर’ को बिल्ला भिराइदिन्छ। त्यसैले बालबालिका बदलिएको अपेक्षा गर्नुअघि सिकाइलाई हेर्ने हाम्रो दृष्टिकोण बदलौँ। किनकि दृष्टिकोण बदलियो भने सिकाइ बदलिन्छ; सिकाइ बदलियो भने विद्यालय बदलिन्छ; र विद्यालय बदलियो भने समाज अनि राष्ट्रको भविष्य बदलिन्छ। आउनुहोस्, बालबालिकालाई बदल्ने प्रयास गर्नुअघि सिकाइप्रतिको हाम्रो दृष्टिकोण बदलौँ। यही नै शिक्षा सुधारको पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाइला हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट