
समाचार कुञ्ज
नुवाकोट । पायोनियर एसोसिएट्स प्रा. लि. कोसिस (CoSys) सफ्टवेयरले गत भदौ १० गते गएको बाढी प्रभावित १९ वटा सहकारी संस्थाको डिजिटल सेवा पुनःस्थापना तथा सञ्चालनलाई सहज बनाउन २४ लाख ४७ हजार ५ सय ८० रुपैयाँ बराबरको निःशुल्क सफ्टवेयर जडान तथा १ वर्षको क्लाउड सेवा उपलब्ध गराउने भएको छ । उक्त सहयोगसम्बन्धि सहमति पत्रमा जिल्ला सहकारी संघ लिमिटेड, नुवाकोटका अध्यक्ष शिवप्रसाद अधिकारी र व्यवस्थापक नारायण श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरिएको छ । सहमति पत्रमा पायोनियर एसोसिएट्स प्रा. लि. (CoSys) का तर्फबाट वरिष्ठ सञ्चालन प्रबन्धक सन्दिप राज भाट र बजार प्रमुख प्रमिला न्यौपानेले हस्ताक्षर गरेका छन् ।
जिल्ला सहकारी संघले सहयोगका लागि आवश्यक सहजीकरण तथा प्रभावित सहकारी संस्थाहरूको सिफारिस गरेको हो, भने पायोनियर एसोसिएट्सले सफ्टवेयर जडान र सिल्भर लाइनिङ प्रा लि ले क्लाउड सेवा उपलब्ध गराउने जिम्मेवारी लिएको छ । यस सहयोगबाट बाढी प्रभावित सहकारी संस्थाहरूको डिजिटल सेवा पुनःस्थापना, वित्तीय अभिलेखको सुरक्षित व्यवस्थापन तथा नियमित सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले सहकारीहरूको सञ्चालन क्षमता अभिवृद्धि गर्दै विपद्पछिको पुनःस्थापना र डिजिटल रूपान्तरणलाई निरन्तरता दिन योगदान पुर्याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस