
समाचार कुञ्ज प्रिय धन , नवलपुर
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषकहरुलाई कृषि सामाग्री अनुदानमा वितरण गरिएको छ l कृषि ज्ञान केन्द्र नवलपुरको योजना अनुसार करिब दश लाख असी हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको हो l
आज बिहिबार ज्योति कृषक समुह हुप्सेकोट ३ समूहमा आवद्ध रहेका ८० जना कृषकलाई सामाग्री वितरण गरिएको ज्योति कृषक कृषि समूहका अध्यक्ष थमन रजाली मगरले जानकारी दिनुभयो l आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने भन्दै सो समूहका कृषकहरुलाई मकै रोप्ने मेसिन , मकै छोडाउने मेसिन , हाते ट्रयाक्टर , स्प्रे ट्यांकी , त्रिपाल , मकै गोड्ने मेसिन , १८/० मिटर कुलो निर्माण गर्ने जस्ता करिब १० प्रकारका सामाग्रीहरु वितरण गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो l 
सामाग्री ग्रहण गर्दै कृषक यदुनाथ पाण्डेले सामाग्री वितरण गरेर मात्र नहुने भन्दै उत्पादन हुने मौसमी तरकारीको बजार भाउ र बजार स्थान तय नहुँदा कृषकले दुःख पाएको बताउनुभयो l यस्तै कृषक पूर्ण प्रकाश बिकले कृषकलाई उत्साहित बनाउन सामाग्री वितरण गरि कृषकका वास्तविक समस्या सिंचाई र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । बलियो बाँध निर्माण , बोरिंग आदिको विषयमा सम्बन्धित निकाय मौन रहनु दुखद भएको उहाँको भनाइ थियो l
जवाफमा प्रमुख अतिथि रहनुभएका हुप्सेकोट ३ वडा अध्यक्ष विष्णु रानाले कृषकका गुनासोहरु गाउँपालिका कृषि शाखामा पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो l
कार्यक्रममा कृषि प्रसार अधिकृत विश्वास काफ्ले , वडाका जनप्रतिनिधिहरु , ज्योति कृषक समुह हुप्सेकोटका कृषकहरु आदि सहभागी भएका थिए ल्ल सामाग्री पाएपछि कृषक भने अत्यन्त हर्षित देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस