आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मेसिनको प्रयोगले सहज भयो मकै छोडाउन


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३१, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ९ पाठक संख्या
  • ज्ञानु पंगेनी , असार  ।

    नवलपुरका किसानहरू यति वेला मकै भित्राउने चटारोमा छन् । व्यावसायिक रूपमै खेति मकै खेति गरेका यहाँका किसानहरू छोडाउने अनि सुकाउने काममा व्यस्त छन् । केही वर्ष पहिलेसम्म हातैले मकै छोडाएर थन्क्याउनु पर्ने बाध्यता थियो भने अहिले मेसिन भित्रिएपछि किसानलाई काममा धेरै सहज भएको छ ।

    मध्यविन्दु एक गुडचरी स्थित आफ्नै घरको आँगनमा मेसिनमा मकै छोडाउँदै गर्दा भेटिनुभएका किसान थमन बहादुर चन्दले मेसिनले काम गर्न निकै सजिलो भएको बताउनुभयो । महिना दिन लगाएर गर्नुपर्ने काम केही घण्टामै सक्किने भएपछि निकै सहज भएको उहाँले बताउनुभयो ।

    कृषक समूह मिलेर गत वर्ष मकै छोडाउने मेसिन खरिद गरेपछि मकै छोडाउन पालैपालो गरी मेसिनको प्रयोग गर्दै आएको चन्दले बताउनुभयो । मेसिनको प्रयोग गर्न थालेपछि मकै छोडाउनलाई निकै सजिले भएको कृषक चन्दले बताउनुभयो । ‘ दुई वर्ष भयो हामीले मेसिनबाटै मकै छोडाउन थालेका छौँ, यसले गर्दा धेरै सजिलो भएको छ । समय त बेस्सरी बचत हुने रैछ , एक घण्टामा डेढ कुन्टल जति छोडाउन सकिन्छ ।’ चन्दले भन्नुभयो ।

    उहाँले नौ कठ्ठा क्षेत्रफलमा सिपी जातको मकै लगाउनुभएको थियो । त्यसले राम्रो उत्पादन दिएको उहाँको भनाई छ । करिब १६ क्विन्टल मकै उत्पादन भएको उहाँले जानकारी दिनुभयो । मकै खेति गर्ने किसानका लागि कृषि ज्ञान केन्द्रले विभिन्न सहयोग समेत गर्दै आएको छ । ज्ञान केन्द्रबाट अनुदानमा बीउ , विषादी तथा प्राविधिक सहयोग पाएको किसान चन्दले बताउनुभयो । अनुदानमा बीउ विजन पाउँदा आफ्नो लगानी घटेको र किसानलाई धेरै राहत समेत भएको उहाँको भनाई छ ।

    सोही ठाउँकै अर्का किसान बल बहादुर खत्रीले पनि व्यावसायिक रूपमा मकै खेति गर्नुभएको छ । उहाँले एक बिगाहा क्षेत्रफलमा स्टार नाइन जातको मकै खेति गर्नुभएको थियो । १५ क्विन्टल मकै उत्पादन भएको उहाँले बताउनुभयो । सबै मकै मेसिनबाट नै छोडाएर भुईँभरि सुकाउनु भएका उहाँले १३ घण्टामा सबै मकै छोडाएर सकेको बताउनुभयो । हातैले छोडाउन परेको भए त महाभारत नै हुन्थ्यो नि , एक महिनै लाग्थ्यो होला , मेसिनले १३ घण्टामा सबै छोडाएर सकियो ।’ किसान खत्रीले भन्नुभयो । मेसिनको प्रयोगले समय मात्रै होइन लागत समेत घटेको छ । खेताला लगाएर छोडाउनुपर्दा खर्च पनि धेरै लाग्थ्यो तर मेसिनको प्रयोगपछि खर्चमा कटौती भएको खत्रीले बताउनुभयो ।

    जिल्लामा कृषि ज्ञान केन्द्रले मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना तथा खाद्यान्न बाली प्रवर्धन समेत गरी दुई वटा कार्यक्रम मार्फत मकै खेति गर्ने किसानलाई विभिन्न प्रकारका सहयोग र अनुदान उपलब्ध गराउँदै आएको छ ।

    खाद्यान्न बाली प्रवर्धनबाट १५० हेक्टर तथा मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजनाबाट २०० हेक्टर गरी जम्मा ३५० हेक्टर क्षेत्रफलमा उन्नत तथा बर्णशंकर जातका बीउ मार्फत मकै खेतिलाइ प्रवर्धन गरिएको बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिनुभयो । बीउ बाहेक यान्त्रीकरण अन्तरगत मकै रोप्ने मेसिन तथा छोडाउने मेसिन, सिँचाइ अन्तरगत कुलो निर्माण, मर्मत, स्यालोट्यवेल जडान, पानी तान्ने मोटर आदिको व्यवस्था गरिएको, बाली संरक्षण अन्तरगत विषादी छर्ने स्प्रेयरहरु, विषादी तथा सूक्ष्म खाद्यतत्व अनुदानमा उपलब्ध गराइएको पौडेलले बताउनुभयो । यसै गरी उत्पादन पछि पनि सहयोगको लागि त्रिपाल, बोरा खरिद तथा आवश्यक ठाउँमा कम्बाइन मिल खरिदमा अनुदान उपलब्ध गराइएको पौडेलको भनाई छ ।

    कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूल प्रसाद तिवारीका अनुसार मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना अन्तरगत यस वर्ष ३० हेक्टर क्षेत्रफलमा मकै बाली विस्तार गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी ४० हेक्टर क्षेत्रफलमा मकै वाली विस्तार भएको छ । समूह सहकारी गरेर ३२ वटा समूह मकै खेतिमा आबद्ध रहेका छन् । कृषि ज्ञान केन्द्रले विभिन्न स्थानका समूह तथा सहकारीलाई गरी ४५ वटा मकै छोडाउने मेसिन उपलब्ध गराएको कार्यालय प्रमुख तिवारीले जानकारी दिनुभयो । मकै रोप्ने मेसिन ५४ वटा , हर्मेटिक ब्याक २०० वटा , डिजिटल काटा २ वटा , मिनीटिलर २ वटा , मोटर चार वटा प्रदान गरिएको बताउनुभयो ।

    जिल्लामा वर्णशंकर मकैको जातको प्रयोग वृद्धि भएकाले उत्पादकत्व वृद्धि हुँदै गएको तिवारीको भनाई छ । यस वर्ष १३० मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरिएको समेत कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट