आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कोदो बालीको संरक्षणमा सरोकारवालाहरूको जोड 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ११ पाठक संख्या
  •  

    काठमाडौं । कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन् । ‘ प्रथम राष्ट्रिय कोदो दिवस – २०८२ ’ को अवसरमा शुक्रबार आयोजित ‘ पहिलो कोदो संगोष्ठी – २०८२ ’ कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए । नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि उद्यम केन्द्र र आर एण्ड डी इनोभेटिभको सह – आयोजनामा शुक्रबार राजधानी काठमाडौंको नयाँ बानेश्वरमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमै कोदो उत्पादन बढाएर आयात घटाउनु पर्ने बताए । नेपालको सबै पहाडी क्षेत्रमा कोदो उत्पादन हुने गरेको बताउदै ढकालले कोदो प्रवर्द्धनमा जोड दिए । यस्तै, नेपाल कोदो तथा फापर संघका अध्यक्ष एवं कृषि उद्यम केन्द्रका सभापति डि.बि. बस्नेतको सभापतित्व आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कोदो संघ पनि महासंघको सदस्य बनेको र महासंघले पनि कोदो प्रवर्द्धनमा भूमिका खेल्ने बताए । 

    उक्त कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा र कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दीपन्द्र जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उठेका जिज्ञासा माथि प्रकाश पार्दै कोदो संघ अध्यक्ष डि.बि. बस्नेतले कोदो संरक्षणको मुख्य उद्देश्यले संघ स्थापना भएको बताए । कोदो उत्पादन बढाउने, बाहिर निर्यात गर्ने, उपभोग बढाउने, व्यवसाय बिस्तार गर्ने, उद्योग स्थापना गर्ने लगायतका विविध सुझाव कार्यक्रममा सहभागीहरूले दिएका छन् । उक्त कार्यक्रममा महासंघका केन्द्रीय वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, संघ / संस्थाका पदाधिकारी एवं सदस्यहरुलगायतले बोलेका थिए । विभिन्न कृषि क्याम्पसका शिक्षक एवं विद्यार्थीहरुको समेत कार्यक्रममा उपस्थिति थियो । कार्यक्रम स्थलमा कोदोका विभिन्न उत्पादन प्रदर्शनी गरिएको थियो । 

    त्यसैगरी, कार्यक्रममा कृषि उद्यम केन्द्रका उप – सभापति राजकुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए, भने कार्यक्रमबारे प्रस्ट्याउने काम कृषि उद्यम केन्द्रका बोर्ड सदस्य सुनिता न्यमाफुकीले गरेकी थिइन् । ‘ कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार ’ मूल नारासहित मनाइएको कार्यक्रमको सञ्चालन उद्यम केन्द्रका सदस्य प्रल्हाद दाहालले गरेका थिए । कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८० / ०८१ मा २ लाख २४ हजार ९ सय ३५ हेक्टरमा कोदोजन्य बाली खेती भएको थियो । ३ लाख ७ सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांक छ । 
    तस्बिर : निराज रानाभाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट