आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

प्रधानमन्त्री टोली विदेश भ्रमण: “प्रश्न गर्नु अपराध हो?” – रास्वपा नेता चोलाकान्त काफ्ले


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २६, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • ६ पाठक संख्या
  • ✍प्रिय धन, नवलपुर २६ असार २०८२ , बिहिबार 

    नवलपुर — प्रधानमन्त्रीको टोलीसँगै विदेश भ्रमणमा गएकामध्ये को फर्किए, को फर्किएन भन्ने विषयमा सार्वजनिक चासो बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मध्यविन्दु नगर कमिटी सचिव चोलाकान्त काफ्लेले सामाजिक सञ्जालमार्फत सरकारप्रतिको गम्भीर असन्तोष व्यक्त गर्नुभएको छ।

    सञ्चारमाध्यममा समाचार आएपछि देशका जिम्मेवार नागरिकका रूपमा जो कोहीले प्रश्न गर्नु स्वाभाविक हो भन्दै उहाँले भन्नुभएको छ, “सांसदले प्रश्न नगर्ने त कुरै हुँदैन। प्रधानमन्त्रीको टोलीमा गएकामध्ये कोही उता (स्पेन) बसेका छैनन् भने सचिवालयले सबैजना फर्किएका हुन् भनेर ससम्मान जवाफ दिनुपर्छ, हप्काउने होइन।”

    यसअघि पनि विदेश भ्रमणमा गएकाहरू कार्यक्रमपछि उतै बसेको इतिहास रहेको स्मरण गराउँदै उहाँले यसपटक पनि यदि त्यस्तो भएको हो भने त्यो नयाँ नभएको उल्लेख गर्नुभएको छ। “नभएको हो भने गज्जबै भयो,” भन्दै उहाँले सरकारलाई नागरिकका प्रश्नप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ।

    काफ्लेले प्रश्न उठाउनु अपराध ठहरिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै भन्नुभएको छ, “सरकार नागरिकको मुख थुन्न चाहन्छ कि भन्ने प्रश्न उठ्न थालेको छ। सांसदलाई हप्काउने सरकारले आम नागरिकलाई के गर्छ?”

    प्रधानमन्त्रीको सचिवालयबाट सांसदप्रति प्रयोग भएको अपमानजनक भाषाप्रति कडा आलोचना गर्दै उहाँले थप्नुभएको छ, “नागरिकको करबाट तलब खाने सचिवालयका कर्मचारीले कुन हैसियतले जवाफ फर्काउने? धम्क्याउने शैलीमा जवाफ दिने संस्कार कता बाट आयो?”

    प्रधानमन्त्री स्वयंले मिडियाबाट वा युवाहरूबाट सम्मानजनक भाषा अपेक्षा गर्नुहुन्छ तर सचिवालयबाट अशिष्ट व्यवहार भइरहेकोप्रति खेद प्रकट गर्दै काफ्लेले भन्नुभएको छ, “लाज मानौं है सरहरू, तपाईहरूले खाइराखेको तलब हाम्रै करबाट हो। अलि नम्र र मीठो बोलौं, अलि सम्मानित भाषाको प्रयोग गरौं।”

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्रीसँगै विदेश भ्रमणमा गएकामध्ये केही व्यक्ति नफर्किएको आशंका व्यक्त गरेकी थिइन्। सो विषयमा सांसद गौतमको भनाइलाई लिएर सामाजिक सञ्जालमा सत्ता पक्षका नेताहरूले नै उनलाई आलोचना गरेका थिए।

    सचिव चोलाकान्त काफ्लेको यो अभिव्यक्तिलाई सो घटनाको सन्दर्भमा नागरिक चेतना र अभिव्यक्तिको स्वतन्त्रताप्रति उठेको स्पष्ट आवाजका रूपमा लिइएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट