
समाचार कुञ्ज दाङ । पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा आज ‘ अट्वारी पर्व ’ मनाइँदै छ । यो पर्वमा थारु समुदायका पुरुषहरु व्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर ( भिन्सर्या ) खाएर अट्वारी ब्रतको तयारी शुरु हुन्छ । २ दिन सम्म मनाईने अट्वारी पर्व बारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ । द्वापर युगमा ५ जना पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका १ जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । अर्कोथरी मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ ।
अट्वारी पर्वमा दाजुभाइहरुले दिदीबहिनीहरुको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीहरुलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ, तर पछिल्लो समय यि र यस्ता संस्कृतिहरु लोप हुने अवस्थामा छन् । यि संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको थारु कल्याणकारीणी सभा दाङ क्षेत्र नम्बर १ का पूर्व अध्यक्ष चेतराम चौधरीले बताए । अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सार्वजनिक बिदा दिएको छ । परापूर्व कालदेखी मनाउदै आएका कला संस्कृति लोप हुने अवस्थामा पुग्न थालेका छन् । समुदाय अनुसारको फरक – फरक परम्पराको संरक्षण गर्ने योजना सबैले बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस