
समाचार कुञ्ज नागरिक समाजको छाता संस्था गैरसरकारी संस्था महासंघ नेपालको समन्वय र संयोजनमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने विषय समेटिएको ध्यानाकर्षण पत्र सरकारलाई हस्तान्तरण गरिएको छ। उक्त पत्र आगामी कमिशन अन द स्टाटस अफ ओमन अर्थात महिलाको अवस्थासम्बन्धी आयोगको ७०औँ सत्रमा नेपालको सहभागितालाई लक्षित गर्दै तयार पारिएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको नेतृत्वमा नेपाल सरकारको प्रतिनिधिमण्डल उक्त सत्रमा सहभागी हुने तय भएको छ। सोही प्रतिनिधिमण्डलमा रहने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राधिका अर्याल र सहसचिव आभा श्रेष्ठलाई समेत नागरिक समाज संस्थाहरूका तर्फबाट सुझावपत्र हस्तान्तरण गरिएको जनाइएको छ।
महासंघका अनुसार उक्त सुझावपत्रमा लैङ्गिक समानता, महिला सशक्तिकरण, महिला अधिकार संरक्षण, नीति कार्यान्वयनको अवस्था तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा नेपालको प्राथमिकताबारे स्पष्ट धारणा प्रस्तुत गरिएको छ। नागरिक समाजले सरकारलाई अन्तर्राष्ट्रिय मञ्चमा देशको वस्तुगत अवस्था र सरोकारवालाको साझा आवाज प्रभावकारी रूपमा उठाउन आग्रह गरेको जनाएको छ।
यस पहलले सरकार र नागरिक समाजबीच सहकार्य सुदृढ गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस