
समाचार कुञ्ज निराज रानाभाट, ललितपुर । आउँदै गरेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मूल नाराका साथ ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ आउँदो असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने फ्यानको उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए । उक्त प्रदर्शनीमा स्टल राख्नका लागि आजदेखि स्टल बुकिङग् खुल्ला गरिएको छ, भने आज नै सबै स्टल बुक भएको आयोजकले जानकारी दिएको छ ।
आजदेखि खुल्ला गरिएको स्टल बुकिङ्ग असोज २७ गतेसम्म रहेको थियो, तर स्टल बुकिङग् खुल्ला गरेको पहिलो दिन अर्थात आज नै सबै स्टल बुक भएको आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा भाग लिन इच्छुक नर्सरी / पुष्प व्यवसायी, संघ / संस्था वा व्यक्तिहरुले आवेदन फारम भरि ललितपुरको ज्वागलस्थित फ्लोरिकल्चर एशोसिएसन नेपालको केन्द्रिय कार्यालयमा भदौ १५ गते ( आज ) कार्यालय समयमा दर्ता गराई स्टल बुकिङग् गरेका छन् । यस्तै, फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ, जसमा गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क ४० हजार रुपैयाँ रहेको एशोसिएसन जनाएको छ । आयोजकका अनुसार स्टल बुक गर्दा तोकिएको प्रति स्टल वापत लाग्ने शुल्कको कम्तीमा ५० प्रतिशत भाडा अग्रिम बुझाउनु पर्ने छ, बाँकी मेला संचालन अवधि भित्र भुक्तानी गरिसक्नु पर्ने छ र प्रदर्शनीमा भाग लिने सदस्यहरुको २०८२ / ०८३ को फ्यान सदस्यता नबिकरण भएको समेत हुनुपर्ने छ ।
पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक एशोसिएसनले जनाएको छ । त्यस्तै, उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, सूचनामुलक ३ वटा, प्रतिस्पर्धा स्टल १ र सेल्फी स्टल १ सहित गरी जम्मा ८५ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सुमन महर्जनले जानकारी दिए । नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री / वितरण हुने छन् । साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा, बिउबिजन, मल र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । ५ दिने उक्त गोदावरी फूलको प्रदर्शनी बिहान ०९:०० बजेदेखि साँझ ५:३० बजेसम्म संचालन हुने छ, भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड २० लाखभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा छ ।
विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा ( मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी / फर्मलाई शिल्ड, नगद तथा प्रमाण – पत्रद्दारा पुरस्कृत गरिने छ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्ट हुने नर्सरी / फर्मलाई पुरस्कृत गरिने छ । साथै, स्टल सजावटतर्फ समेत उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकको जनाएको छ । व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिने एशोसिएसनले जनाएको छ । प्रदर्शनी स्थलमा स्टल सजावट कार्य २०८२ असोज २८ गते, बिहान ०८:०० बजेदेखि खुल्ला हुने छ । प्रदर्शनी उद्घाटन २०८२ असोज २९ गते हुने छ, भने प्रदर्शनी समापन २०८२ कार्तिक २ गते, साँझ ०५:०० बजे हुने एशोसिएसनले जनाएको छ ।
पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए । हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने श्रेष्ठले बताए । त्यसैगरी, उक्त प्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरूको लागि १ सय रुपैयाँ, सर्वसाधारणहरुको लागि १ सय ५० रुपैयाँ तोकिएको र जेष्ठ नागरिकहरु ( नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउने पर्ने ) को लागि चाँहि नि:शुल्क प्रवेशको गरिएको फ्यानको कोषाध्यक्ष राजकृष्ण बजगाईँ जानकारी दिए । नेपालमा वि.सं. २०११ सालबाट सामान्य स्तरमा शुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरुलगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस