
समाचार कुञ्ज तनहुँ र नवलपरासी गरी दुई जिल्ला जोड्ने गडगडीघाटमा निर्माणधीन मोटरेवल पुल निर्माण कार्यले गति लिन थालेको छ । निर्माण कम्पनी लुम्बिनी विल्र्डसको लापरवाहीका कारण निर्माण कार्य अलपत्र बन्दै आएकोमा स्थानीयबासीको चर्को दबाबपछि पुन ः निर्माण सुरु भएको हो ।
झण्डै आठ बर्षदेखि अलपत्र हुदै आएको सो पुलको निर्माण कार्य अघि बढाइएको छ । पाँच स्पाममध्ये एक स्पाम जडान कार्य सम्पन्न भएको स्थानीय शिक्षक माधव गिरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “छ वटा पिल्लरमध्ये पाँच पिल्लर निर्माण गरिसकेको र एउटा पिल्लरको जमिन मुनिको भागको काम सकेर पिल्लर उठाउन बाँकी रहेको छ ।” जिल्लाको ऋषिङ गाउँपालिका–४ मधुवन र नवलपरासीको बुलिङटार–४ कोखे जोड्ने पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयबासी खुशी भएका छन् । उक्त पुल आव ०७३÷०७४ मा स्वच्छन्द ,नागार्जुन ,जेभी कम्पनीले पाँच वर्षमा सक्ने गरि रु.३२ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।
उक्त निर्माण कम्पनीले काम गर्न नसकेपछि लुम्बिनी विल्र्डसले जिम्मा पाएर काम सुरु गरेको निर्माण कम्पनीका साइड इन्चार्ज सुदीप थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “यस आर्थिक बर्षमा समय अलि ढिलो भएका कारण यसबर्ष पूरा गर्न बाँकी रहेको एक पिल्लर सम्पन्न गरी एक स्पाम निर्माण गरिएको छ ।”
संघीय सरकारको बजेटमा कालिगण्डकी नदीमा रु.३२ करोडको लगानीमा निर्माणधीन उक्त पुल लामो समयदेखि अलपत्र हुँदा त्यसभेगका मानिसहरू यातायातको सुविधाबाट बञ्चित हुनु परेको छ ।
पुल निर्माणपछि नवलपुरको गैंडाकोट, धामबेशी, बुलिङ्गटार हुँदै तनहुँको ऋषिङ स्थित मधुवन, रूपटार, पिपलटार, घिरिङ्गको मानपुर हुँदै भिमाद, खैरेनीटार लगायतका बजार आवतजावतमा सहज बन्ने छ ।
त्यसैगरी नवलपुरको उत्तरी भेग र तनहुँको दक्षिणी भेगलाई सुगम बनाउने रुपमा समेत यस पुललाई लिने गरिएको छ ।
शिक्षक गिरीले भन्नुभयो “ढिलै भएपछि निर्माण कार्यले गति लिन थालेपछि स्थानीयबासी खुशी बनेका छन्,पुल बनेपछि आवतजावतमा सहज हुनेछ ।”

प्रतिक्रिया दिनुहोस