
समाचार कुञ्ज रोटरी क्लब अफ डिल्लीबजारले डिल्लीबजारस्थित पीपलबोटमा रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व रहेको राधाकृष्ण मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो स्थापनादेखि नै ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक सम्पदा र मन्दिरहरूको सरसफाइ तथा संरक्षणमा सक्रिय भूमिका खेल्दै आएको छ । क्लबले यसप्रकारका अभियानहरु समुदाय र विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा अभियानका रुपमा सञ्चालन गर्दै आएको छ।
सफाइ अभियानमा ४० जना भन्दा बढी रोटेरियन, रोट्र्याक्ट सदस्य तथा स्थानीय समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो। मन्दिर परिसरको सरसफाइसँगै टोल समुदायको सरसफाई, प्लाष्टिकको प्रयोगन नगर्ने, वातावरणीय संरक्षण तथा बृक्षारोपण लगायतका विषयहरुमा समेत आम समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ।
रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष प्रेम वलीले भने, “हामीले हरेक वर्ष सम्पदा र मन्दिर सरसफाइका गतिविधिहरू आयोजना गर्दै आएका छौं। यस किसिमका अभियानहरूमा स्थानीय समुदाय, युवाहरू, रोटेरियन, रोट्र्याक्ट, इन्टर्याक्ट तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहदै आएको छ र यसले यस्ता प्रयासहरुले सबै नागरिकहरुको थप स्वामित्वको भावना सिर्जना गर्ने हाम्रो उद्देश्य रहन्छ।”
त्यस्तै, क्लबकी सचिव संध्या राजभण्डारीले भनिन्, “रोटरी क्लब अफ डिल्लीबजार समुदायसँग मिलेर सामाजिक कार्यहरूमा निरन्तर सक्रिय छ। हामी केही दिनभित्रै रक्तदान कार्यक्रम, वृक्षारोपण अभियान तथा विद्यार्थी, शिक्षक र समुदायका लागि आँखाको जाँच कार्यक्रम पनि आयोजना गर्दैछौं।”
रोटरी क्लब अफ डिल्लीबजारले यस्ता सामाजिक उत्तरदायित्व तथा मानविय सेवासँग सम्बन्धी गतिविधिहरू गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयत्न गरिरहेको छ। क्लबको आगामी कार्यक्रमहरूमा समेत समुदायको उत्साहजनक सहभागिता रहने र देशका विभिन्न क्षेत्रहरुमा सामाजिक सेवा र मानविय सहयोगका अभियानहरु पुर्याउने कार्ययोजना र अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस