आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

लोकतन्त्रको बहसमा युवा सहभागिता बढाउनुपर्नेमा जोड


  • समाचार कुञ्ज
  • २०८३ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • १७ पाठक संख्या
  • युवाको लोकतान्त्रिक सहभागिता, नागरिक संलग्नता र लोकतन्त्र सुदृढीकरणमा युवाको भूमिकाबारे केन्द्रित ‘लोकतन्त्रका लागि युवा पहलः युवा, लोकतन्त्र र नागरिक सहभागिता’ विषयक विशेष युवा संवाद सम्पन्न भएको छ।

    युवा अभियनको आयोजना र ताइवान फाउन्डेसन फर डेमोक्रेसीको साझेदारीमा सञ्चालन भइरहेको युवा संवाद शृङ्खला अन्तर्गत उक्त विशेष सत्र आयोजना गरिएको हो।

    कार्यक्रममा नेपालमा लोकतन्त्रको वर्तमान अवस्था, लोकतान्त्रिक विकासको प्रक्रिया, युवाको अर्थपूर्ण सहभागिता तथा जिम्मेवार नागरिक संलग्नताका विषयमा छलफल गरिएको थियो। सहभागी युवाहरूले लोकतान्त्रिक संस्थाको सुदृढीकरण, सार्वजनिक नीति निर्माणमा युवाको सहभागिता र नागरिक अधिकार तथा कर्तव्यका विषयमा आफ्ना धारणा, अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए।

    कार्यक्रममा विभिन्न क्षेत्र, समुदाय र पृष्ठभूमिबाट आएका युवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले युवालाई लोकतन्त्रका लाभग्राहीका रूपमा मात्र नभई लोकतान्त्रिक प्रक्रियाका सक्रिय साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष अर्जुन भट्टराईले लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाज र युवाबीचको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले युवाको ऊर्जा, सिर्जनशीलता र नयाँ दृष्टिकोणलाई लोकतान्त्रिक अभ्याससँग जोड्न सकेमा लोकतन्त्रलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो।

    त्यस्तै, गैरसरकारी संस्था महासंघ, नेपालका उपसचिव किरण थापाले युवाको सक्रिय नागरिक सहभागिता लोकतान्त्रिक समाजको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै युवाले आफ्नो अधिकारसँगै जिम्मेवारीलाई पनि आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवाका आवाजलाई नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा समेटिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा युवा अभियनका अध्यक्ष योगेश काफ्लेले युवाको नेतृत्व र नागरिक सहभागितालाई लोकतन्त्रको निरन्तर विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो। उहाँले युवाहरूले लोकतन्त्रलाई केवल निर्वाचनसँग सीमित नराखी दैनिक नागरिक जीवन, सार्वजनिक बहस, नीति निर्माण र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

    कार्यशालाका सहजकर्ता खिमानन्द देवकोटाले युवाको लोकतान्त्रिक सहभागिताका विभिन्न आयामबारे सहजीकरण गर्दै सहभागीहरूलाई संवाद, प्रश्नोत्तर र समूहगत छलफलमार्फत आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुभएको थियो। उहाँले युवाको सहभागिता संख्यात्मक उपस्थितिमा मात्र नभई निर्णय प्रक्रियामा प्रभावकारी र अर्थपूर्ण सहभागिताका रूपमा विकास हुनुपर्ने धारणा राख्नुभयो।

    कार्यक्रममा सहभागी युवाहरूले लोकतान्त्रिक अभ्यासमा युवाको भूमिका विस्तार गर्न नागरिक शिक्षा, नेतृत्व विकास, सार्वजनिक संवाद, सामाजिक उत्तरदायित्व र नीति निर्माणमा युवाको पहुँचलाई थप सुदृढ बनाउनुपर्ने सुझाव दिएका थिए।

    कार्यक्रम मार्फत युवाका आवाज, अनुभव र दृष्टिकोणलाई लोकतन्त्र, सुशासन, नागरिक सहभागिता तथा दिगो विकाससँग जोड्दै निरन्तर संवादको वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑