आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

अधिवक्तामाथिको आक्रमणले लोकतान्त्रिक प्रणालीमा खतरा: मानव अधिकार एलाइन्स बागमती प्रदेश समिति


  • समाचार कुञ्ज
  • २०८१ माघ २, बुधबार मा प्रकाशित १ साल अघि
  • १२ पाठक संख्या
  • काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाले न्यायालयको मर्यादा र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै मानव अधिकार एलाइन्स, वागमती प्रदेशले गम्भीर आपत्ति जनाएको छ।

    एलाइन्सले जारी गरेको विज्ञप्तिमा अधिवक्ता त्रिपाठीज्यू आफ्नो पेशागत जिम्मेवारी पूरा गर्दै थुनछेक बहसमा संलग्न हुनुहुँदा अदालत परिसरमै उहाँमाथि गरिएको हातपात, लछारपछार र कुटपिटजस्ता अमानवीय व्यवहारले कानुन व्यवसायीहरूको सम्मानमाथि गम्भीर आघात पुर्‍याएको उल्लेख गरिएको छ। यो घटनाले नागरिकहरूको न्यायिक प्रक्रियामा रहेको विश्वासलाई समेत कमजोर बनाएको एलाइन्सको ठहर छ।

    एलाइन्सले घटनालाई निन्दनीय मात्र नभई लोकतान्त्रिक प्रणाली र न्यायिक प्रक्रियामाथि ठाडो चुनौतीको रूपमा व्याख्या गरेको छ। दोषीहरूमाथि यथाशीघ्र कानुनी कारबाही गर्न र न्यायालय परिसरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

    मानव अधिकार एलाइन्सले कानुनी प्रक्रियाको मर्यादा र अधिवक्ताहरूको सुरक्षाको सुनिश्चितताका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ। सचिव हरिवोल आचार्य र अध्यक्ष श्यामकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा घटनाको दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र यस्ता घटनाहरू पुनः नदोहोरियोस् भन्नका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।

    यो घटना न्यायालय परिसरभित्रको सुरक्षा व्यवस्थाको पुनरावलोकन र सुधारको आवश्यकता औंल्याउने अवसर भएको एलाइन्सले जनाएको छ। कानुन व्यवसायीहरूको पेशागत सुरक्षामा कुनै सम्झौता नगर्न चेतावनी दिँदै एलाइन्सले लोकतान्त्रिक मूल्य र न्यायिक प्रक्रियाको संरक्षणमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट