
समाचार कुञ्ज साउन ७ अन्जान परियार घिरिङ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले घिरिङ गाउँ कमिटीले एक दिवसीय सडक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार बिहान ९ बजे घिरिङ गाउँपालिका–३ स्थित पोखरीछाप बाट सुरु भएको अभियान वडा नम्बर ५ बेलभन्ज्याङ्ग सम्म करिब ६ किलो मिटर दूरीमा सरसफाई कार्यक्रम गरिएको हो। उक्त अभियानमा सडक छेउका झाडी फडानी, पुरिएका नालीको सफाइ तथा वरपरको वातावरणीय सरसफाई गरिएको थियो।
नेकपा एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठको संयोजकत्वमा सञ्चालित उक्त अभियानमा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, एमाले नेता विष्णुभक्त सिग्देल, पूर्व गाउँपालिका अध्यक्ष रन बहादुर राना, एमाले जिल्ला सदस्यहरू, गाउँ कमिटीका पदाधिकारी, कार्यकर्ता तथा स्थानीय बासिन्दा लगायतको श्रमदान रहेको थियो।
सो कार्यक्रमको शुभारम्भ गर्दै घिरिङ गाउँपालिका अध्यक्ष थापाले स्व. पुष्पलाल श्रेष्ठको विचार र मार्गदर्शनले आफूहरूलाई सधैं रचनात्मक कार्यमा प्रेरणा मिल्ने उल्लेख गर्दै स्व. पुष्पलाल जस्तै जनसेवा र समाज रूपान्तरणमा लागिरहने हाम्रो अठोट रहेको बताए। नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका थापाले जनप्रतिनिधि र राजनीतिक दल बीचको समन्वयमा यस्ता अभियानले समाजमा सकारात्मक सन्देश दिने बताउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस