आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

राष्ट्रिय युवा नीति २०८२ ऐतिहासिक उपलब्धि हो : देवकोटा


  • समाचार कुञ्ज
  • २०८२ भाद्र १२, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • २० पाठक संख्या
  • परिवर्तनका लागि नागरिक पहल नेपालले नेपाल सरकारले पारित गरेको राष्ट्रिय युवा नीति २०८२ लाई ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरेको छ। संस्थाका महासचिव खिमानन्द देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नयाँ नीति पारितसँगै युवाको अधिकार, अवसर र नेतृत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    महासचिव देवकोटाले भने, “राष्ट्रिय युवा नीति २०८२ केवल कागजमा सीमित हुने दस्तावेज होइन, यो नेपाली युवाको भविष्य सुनिश्चित गर्ने मार्गचित्र हो। यसलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारले मात्र होइन, सम्पूर्ण युवा आन्दोलन, संघ–संस्था र सरोकारवालाले साझेदारी गर्न जरुरी छ।”

    नयाँ नीतिले युवाको परिभाषा संशोधन गर्दै १८ देखि ३५ वर्ष उमेर समूहलाई ‘युवा’ का रूपमा परिभाषित गरेको छ। यसले अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने मात्र नभई नेपाली युवाको वास्तविक अवस्था र आवश्यकता सम्बोधन गर्ने आधार तयार गरेको संस्थाले जनाएको छ।

    नीतिमा रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता प्रवर्द्धन, अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउने, शिक्षा र स्वास्थ्य पहुँचलाई बलियो बनाउने, वातावरण संरक्षण र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने प्रावधान समावेश गरिएको छ। साथै, प्रदेश र स्थानीय तहसम्म प्रभावकारी कार्यान्वयनका लागि विस्तृत कार्ययोजना पनि समेटिएको छ।

    देवकोटाले थपे, “यो नीति दशकौँदेखिको आन्दोलन, बहस र युवाको सक्रियताले सम्भव भएको उपलब्धि हो। अब हाम्रो प्रमुख चुनौती भनेको यसको प्रभावकारी कार्यान्वयन हो। नागरिक समाज, युवा अभियानकर्मी र सरकारी निकायबीचको सहकार्यबिना अपेक्षित नतिजा प्राप्त हुने छैन।”

    परिवर्तनका लागि नागरिक पहल नेपालले यस नीतिलाई व्यवहारमा उतार्न निरन्तर संवाद र सहकार्यमा रहने प्रतिबद्धता जनाउँदै, करिब एक दशकदेखि लागू हुँदै आएको राष्ट्रिय युवा नीति २०७२ औपचारिक रूपमा विस्थापित भइसकेको तथ्यलाई समेत स्मरण गराएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट