
समाचार कुञ्ज नवलपुर । नवलपुर क्षेत्र नम्बर दुईबाट नेकपा एमालेका उम्मेदवार तिलक महतले नवलपुरको समग्र विकासका लागि आफू पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । एमालेको चुनावी अभियानअन्तर्गत कावासोती नगरपालिका–१५ मा स्थापना गरिएको पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उम्मेदवार महतले विगतमा सुरु गरिएका अधुरा योजनाहरू सम्पन्न गर्ने र जिल्लाको विकासलाई नयाँ उचाइमा पुर्याउने गरी थप योजना अघि सार्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो पहिलो कार्यकालमा नवलपुरको विकासका लागि थुप्रै महत्वपूर्ण योजनाहरू अघि बढेको उल्लेख गर्दै केही योजना पूरा भइसकेको र केही बाँकी रहेको बताउनुभयो । बाँकी योजनालाई समयमै सम्पन्न गर्नुका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र समग्र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समृद्ध नवलपुर निर्माणमा निरन्तर लागिरहने उहाँको भनाइ थियो ।
“म सधैँ जनताकै बीचमा छु । जनताको चाहना, आवश्यकता र आकांक्षाअनुसार काम गर्न म प्रतिबद्ध छु,” उम्मेदवार महतले भन्नुभयो, “केही योजना मैले अघिल्लो कार्यकालमै अघि बढाएँ, अब ती योजनालाई पूर्णता दिनुका साथै नवलपुरको भविष्यसँग जोडिएका नयाँ र दीर्घकालीन योजना अघि सार्ने मेरो लक्ष्य छ । यहाँका सबै मतदाताको भावना र विश्वास अनुसार यही माटोका लागि निरन्तर काम गर्ने छु ।”
कार्यक्रममा उपस्थित कावासोती–१५ का मतदाताहरूले तिलक महतलाई इमान्दार, विकासप्रेमी र स्पष्ट दृष्टिकोण भएका नेताका रूपमा चित्रण गरेका थिए । उनीहरूले विकासको ठोस खाका कोर्न सक्ने क्षमताका कारण महतको तुलना अरू उम्मेदवारसँग गर्न नमिल्ने भन्दै आफ्नो मत नवलपुरको विकास र समृद्धिका लागि तिलक महतलाई नै दिने प्रतिबद्धता जनाएका थिए ।
स्थानीयवासीहरूले तिलक महतले जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या बुझ्ने र समाधानतर्फ अग्रसर हुने नेतृत्व क्षमता देखाइसकेको भन्दै आगामी कार्यकालमा नवलपुर क्षेत्र नम्बर दुईले अझ तीव्र विकासको गति लिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस