
समाचार कुञ्ज नवलपुर । नेकपा एमालेका उम्मेदवार तिलक महतले प्रतिनिधिसभा निर्वाचन अभियानअन्तर्गत आज मध्यविन्दु नगरपालिका–१, २ र ३ मा सघन घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलोका क्रममा उम्मेदवार महतले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै राय–सुझाव संकलन गर्नुका साथै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराउनुभएको थियो। स्थानीयवासीका समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।
जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरूको समग्र विकासका लागि हुलाकी सडक योजनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको जोड थियो। हुलाकी सडक निर्माण अघि बढे यससँग जोडिएका बस्तीहरू क्रमशः बजारका रूपमा विकास हुँदै जाने र आर्थिक गतिविधि विस्तार भई समग्र क्षेत्रकै मुहार फेरिने उहाँले बताउनुभयो। उक्त योजनालाई तीव्रता दिन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता महतले व्यक्त गर्नुभयो।
त्यसैगरी, नारायणी नदी तटीय तथा मध्यवर्ती क्षेत्र भएकाले नदी कटान नियन्त्रण, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरण र सुरक्षित बसोबासका लागि ठोस कार्यक्रम ल्याइने उहाँले उल्लेख गर्नुभयो।
नारायणी तटीय क्षेत्र पर्यटकीय दृष्टिले सम्भावनायुक्त रहेकाले पर्यटन पूर्वाधार निर्माणमार्फत रोजगारी सिर्जना गर्न सकिने महतको भनाइ थियो। प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड दिइने उहाँले बताउनुभयो।
घरदैलोका क्रममा मतदाताबाट प्राप्त सकारात्मक साथ, सुझाव र उत्साहले आफू थप जिम्मेवार बनेको महतले बताउनुभयो। “जनताको गुनासा, राय र सुझावकै आधारमा योजना बनाउँछु, काम गर्छु,” उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस