
समाचार कुञ्ज नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट नवलपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तिलक महत यतिबेला पहाडी भू–भागका मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त हुनुहुन्छ। घरदैलो र अन्तरक्रियाका क्रममा उहाँले उत्साहजनक र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभएको छ।
बौदिकाली क्षेत्रमा कृषिको ठूलो सम्भावना रहेकाले त्यसको व्यावसायिक प्रवर्द्धन गर्नुपर्ने माग मतदाताले जोडदार रूपमा राखेका छन्। कृषिमा आधुनिकीकरण, उत्पादनको बजारीकरण र सिँचाइ व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको महतले जानकारी दिनुभयो। “कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाउँछौँ,” उहाँले भन्नुभयो।
यससँगै बाह्रै महिना सदरमुकामसँग सहज आवतजावत गर्न सक्ने सडक सञ्जाल विस्तार पहाडी भेगका नागरिकको प्रमुख अपेक्षा बनेको छ। विशेषगरी ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत डेढगाउँदेखि कावासोती जोड्ने सडक स्तरोन्नतिको अवधारणा आफूले अघि बढाएको स्मरण गर्दै महतले अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।
रणनीतिक सडक योजनाअन्तर्गत डेढगाउँदेखि मिनामकोट खण्डमा विभिन्न निर्माण कार्य भइरहेको स्थानीयवासीको भनाइ छ। अब यसलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउँदै सदरमुकामसँग प्रभावकारी रूपमा जोड्नुपर्ने माग मतदाताले राखेका छन्।
“पहिलो पटक पहाडमा केही काम सुरु गर्नुभयो, अब त्यसलाई पूर्णता दिनुहोस्। जिताउने जिम्मा हाम्रो हो, विकासका अधुरा काम तपाईंले अघि बढाउनुपर्छ,” स्थानीय मतदाताको स्पष्ट भनाइ छ।
पहाडी क्षेत्रका नागरिकसँग सुझाव संकलन गर्दै उम्मेदवार महतले बौदिकालीवासीको आवश्यकता र प्राथमिकताअनुसार योजनाबद्ध विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले स्थानीय स्रोत, सम्भावना र जनअपेक्षालाई केन्द्रमा राखेर समग्र पहाडी क्षेत्रको दीगो विकासमा ध्यान दिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस