
समाचार कुञ्ज देवचुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागिरथ सापकोटाले आश्वासनभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिने अठोट व्यक्त गर्नुभएको छ। देवचुली नगरपालिका–१६ मा आयोजित मतदाता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उहाँले “अब नारा होइन, देखिने नतिजा चाहिन्छ” भन्दै परिणाममा आधारित राजनीति गर्ने स्पष्ट धारणा राख्नुभयो।
कार्यक्रममा स्थानीय मतदाताले “हामी भोट दिन्छौं, तपाईँले हाम्रो मतको सम्मान गर्नुपर्छ” भन्दै निर्वाचित भएपछि पनि निरन्तर सम्पर्कमा रहन आग्रह गरेका थिए। “जनता भन्छन्, भोट पाएपछि नेता भुल्छन्” भन्ने गुनासो उनिहरुको थियो । त्यसको जवाफमा सापकोटाले नियमित भेटघाट, जनसुनुवाइ र समस्याको शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
देवचुली–१६ अन्तर्गत सुकुम्बासी बस्तीमा भएको छलफलमा स्थानीय बासिन्दाले रोजगारी, आयआर्जन र आधारभूत पूर्वाधारका विषय उठाएका थिए । सापकोटाले स्थिर सरकार नहुँदा धेरै विकासका कामहरू प्रभावित भएको उल्लेख गर्दै स्थायित्व र स्पष्ट नीति बिना विकास सम्भव हुँदैन, त्यसैले एमाले नै समस्या समाधान गर्ने सक्षम पार्टी भएको बताउनुभयो ।
उहाँले लघुउद्यम प्रवर्द्धनमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, सीप विकास तालिम सञ्चालन गर्ने र आयआर्जन वृद्धि गर्ने कार्यक्रम अघि सार्ने प्रतिबद्धता जनाउनुभयो। “युवा विदेशिनु बाध्यता होइन, विकल्प हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि उत्पादन, उद्यम र बजार व्यवस्थापनमा जोड दिइनेछ।”
भेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। मतदातासँग प्रत्यक्ष संवाद गर्दै सापकोटाले विश्वासको राजनीति अघि बढाउने र जनताको मतको सम्मान कामबाटै प्रमाणित गर्ने अठोट दोहोर्याउनुभयो।
पारिपारिक शोकमा रहनु भएका सापकोटा क्रमश मतदातासंग छलफल र भेटघाटमा सहभागी भईरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस