
समाचार कुञ्ज नवलपुर।
नवलपुर क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बीच हुने आँकलन गरिँदै गर्दा एमालेका उम्मेदवार तिलक महत बलियो दाबेदारका रूपमा उभिएका छन्। संगठनात्मक आधार, स्वच्छ छवि र स्पष्ट विकास दृष्टिकोणका कारण उनी चुनावी प्रतिस्पर्धामा अग्रस्थानमा रहेको एमाले पक्षको दाबी छ।
२०७४ सालमा निर्वाचित भएपछि जिल्ला विभाजनपछिको अवस्थामा नवलपुरलाई संस्थागत रूपमा उभ्याउने कार्यमा महतले सक्रिय भूमिका खेलेको उनका समर्थकहरू बताउँछन्। नयाँ जिल्लाको संरचना निर्माण, योजनाको प्राथमिकता निर्धारण तथा दीर्घकालीन विकासको खाका तयार पार्ने काममा उनले नवलपुर केन्द्रित सोच अघि सारेका थिए। यही अनुभव र परिपक्वताले उनलाई पुनः एकपटक बलियो उम्मेदवार बनाएको विश्लेषण गरिएको छ।
महतलाई इमान्दार, निष्ठावान र सुशासनप्रति प्रतिबद्ध नेताका रूपमा चिनिन्छ। राजनीतिक जीवनमा कुनै भ्रष्टाचार वा अनियमितताको आरोप नलागेको विषयलाई एमालेले प्रमुख चुनावी एजेन्डा बनाएको छ।
हरेक वर्ग, समुदाय र उमेर समूहसँग सहजै घुलमिल हुने, धैर्यपूर्वक कुरा सुन्ने र सुझावलाई नीति निर्माणमा समेट्ने उनको शैलीले ‘सबैका नेता’को छवि निर्माण गरेको समर्थकहरू बताउँछन्। घरदैलो अभियानका क्रममा प्राप्त सकारात्मक प्रतिक्रियाले उनको जनाधार बलियो रहेको दाबी गरिएको छ।
नवलपुर–२ भौगोलिक रूपमा तराईदेखि पहाडी क्षेत्रसम्म फैलिएको निर्वाचन क्षेत्र हो। यही विविधतालाई ध्यानमा राख्दै महतले पुनः निर्वाचित भएमा पूर्वाधार, स्वास्थ्य, उद्योग र पर्यटनलाई एकीकृत ढंगले अघि बढाउने रणनीति सार्वजनिक गरेका छन्।
पूर्व–पश्चिम हुलाकी सडकलाई पूर्ण रूपमा प्रभावकारी बनाउन संघीय सरकारसँग समन्वय गरी काम अघि बढाउने , यस योजना अघि सार्न सके पर्यटन, कृषि उत्पादनको ढुवानी, स्थानीय व्यापार विस्तार, ग्रामिण क्षेत्रमा नयाँ बजारको विकास र रोजगारी सृजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
दुम्किबास–त्रिवेणी सडकको स्तरोन्नतिको काम यस क्षेत्रको उल्झनमा रहेको योजना हो । यो योजनाका केही कागजी काम र प्रक्रिया अघि बढेका छन् । तर चुरो काम सुरु हुन सकेको छैन, आफ्नो अघिल्लो कार्यकालको समेत यो योजना प्राथमिकतामा परेको र केही प्रक्रियागत कुरा अघि बढेको मूल समस्या पत्ता लगाएकाले अब यसलाई अघि बढाउन पहल गर्ने र त्यो काम सक्ने महतको योजना छ । यस मार्गलाई धार्मिक तथा पर्यटकीय मार्गका रूपमा विकास गर्ने लक्ष्यले स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास गरिएको छ। त्यती मात्र हैन भारतसँग गण्डकी प्रदेशेको सिधा सम्पर्क हुने हुँदा नवलपुर सहित गण्डकी प्रदेशको आर्थिक विकासमा यसले ठूलो टेवा पुग्ने छ । यसकारण महतको प्राथमिकतामा यो योजना रहेको छ ।
पहाडी क्षेत्रका रणनीतिक सडकहरूको स्तरवृद्धि, वर्षायाममा अवरुद्ध हुने सडकको दीर्घकालीन समाधान, पहाड–तराई जोड्ने वैकल्पिक मार्ग विकास तथा दुर्गम बस्तीमा सेवा पहुँच विस्तार गर्ने लक्ष्यले क्षेत्रीय सन्तुलन कायम गर्ने उनको भनाइ छ।
स्वास्थ्य क्षेत्रतर्फ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताललाई क्रमशः मेडिकल कलेजका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। आवश्यक पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सकको व्यवस्थापन र शिक्षण अनुमति प्रक्रियालाई अघि बढाउने पहलले नवलपुरलाई स्वास्थ्य शिक्षाको केन्द्र बनाउने लक्ष्य लिइएको छ।
त्यसैगरी सम्भावित फलाम खानी सञ्चालनका लागि पहल रहने महतले बताउनुभयो । यो उद्योग स्थापना भए स्थानीय रोजगारी र राजस्व वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नारायणी नदी तटबन्ध व्यवस्थापनलाई दीर्घकालीन बाढी नियन्त्रण, कृषि जमिन संरक्षण र पर्यटकीय विकाससँग जोडेर अघि बढाउने सोच सार्वजनिक गरिएको छ। सुरक्षित तटबन्ध, हरित करिडोर र नदी किनार क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गरिएको छ।
कावासोतीमा प्रस्ताविक ओैधोगिक क्षेत्रको कामलाई अघि बढाउँदै जिल्लामा रोजगारी सिर्जना गर्दै आर्थिक विकासलाई अघि बढाउने महतको योजना छ। नवलपुरको पहाडी क्षेत्र लाई सदरमुकाम कावासोतीसंग जोड्ने रणनितिक सडकलाई पुर्णता दिदै बाह्रै महिना सहज रुपमा संचालन गर्न सक्ने बनाउने, पहाडी क्षेत्रका कृषीलाई थप व्यवसायीकरणका लागी पहल गर्ने महतका स्पष्ट योजना छन्।
निष्कर्ष
स्पष्ट विकास रोडम्याप, अघिल्लो कार्यकालको अनुभव, संगठनात्मक मजबुती र स्वच्छ छविका कारण तिलक महत नवलपुर–२ मा बलियो उम्मेदवारका रूपमा देखिएका छन्। प्रतिस्पर्धा त्रिपक्षीय भए पनि विकासको एजेन्डा र जनसम्पर्कको आधारमा आफू विजयी हुने विश्वास उनले व्यक्त गरेका छन्।
अब निर्णय मतदाताको हातमा छ—दिगो योजना र अनुभवी नेतृत्वलाई निरन्तरता दिने कि नयाँ विकल्प रोज्ने? नवलपुर–२ को भावी दिशा यही निर्वाचनले निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस