
समाचार कुञ्ज ऋषिङ्ग
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले गण्डकी प्रदेश सरकारले समानुपातिक विकासको अवधारणालाई अंगाली रहेको बताएका छन्। ऋषिङ्ग गाउँपालिका वडा नम्बर ८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयको ४९ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आलेले प्रदेश सरकारले सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार, पर्यटन , उद्यमशीलतालाई विशेष प्राथमिकतामा राख्दै अगाडि बढिरहेको बताएका छन् । उनले श्रृङ्गपथ अदालतमा मुद्दा दायर भएकाले बाटो निर्माण हुन नसकेको बताएका छन् । उनले विपद् व्यवस्थापन मार्फत उक्त मार्गको मर्मत गर्ने तयारी भै रहेको बताएका छन् ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै ऋषिङ्ग गाँउपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले शिव सरस्वती माध्यमिक विद्यालयले ऋषिङ्ग गापाकै अग्रणी शैक्षिक संस्थाको परिचय दिँदै आईरहेको बताएका थिए । श्रेष्ठले गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आईरहेको बताएका छन् । उनले शिव सरस्वती माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा तर्फ १८ महिने भेटेरिनरी प्रि डिप्लोमाले विद्यार्थीहरुलाई आकर्षण गर्नुपर्ने भएतापनि विद्यार्थीहरुको संख्या न्यून भै रहेको बताएका थिए । उनले विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको महत्त्व बुझि प्रविधिक शिक्षा हासिल गरी स्वरोजगार बन्न सुझाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुवासचन्द्र रानाभाट , ऋषिङ्ग गा.पा वडा ८ का वडाध्यक्ष भरत कृष्ण श्रेष्ठ , वडा ७ का वडाध्यक्ष दुर्गा बहादुर थापा , जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्ले लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा विद्यालय प्रधानाध्यापक रमेश पुलामीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक स्व शिवराज चन्दकी धर्मपत्नी खनु मायाँ चन्दद्वारा रु ३ लाख बराबरको अक्षयकोषको स्थापना गरिएको थियो । यस्तै उक्त अवसरमा विभिन्न सामाजिक संघसंस्थाद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस