
समाचार कुञ्ज देवचुली । देवचुली १० मा ४२ औं मगर एकता दिवश तथा नवौं विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। पृथ्वी मगर समाज देवचुली १० को आयोजनामा फागुन १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । विविध गतिविधि पृथ्वीनगरको लोकाहास्थित खेल मैदानमा हुनेछ ।
कार्यक्रममा फागुन १३ गतेदेखि १५ गतेसम्म सांस्कृतिक कार्यक्रम सँगै खुला किशोरी भलिबल प्रतियोगिता, पुरुष वडास्तरीय खुला भलिबल प्रतियोगिता, विभिन्न परिकारका खानाका स्टलहरु रहने आयोजक पृथ्वी मगर समाजका अध्यक्ष भुवन सिं आलेले जानकारी दिए । किशोरी भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेका लागि क्रमशः नगद १० हजार, ६ हजार र ३ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने र नि:शुल्क टिम दर्ता गर्न सकिने जनाईएको छ ।
त्यसै गरि पुरुषतर्फ प्रथम र द्वितीय हुनेका लागि क्रमशः नगद ५१ हजार र २५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताए । पुरूषतर्फ भने टिम दर्ता शुल्क ३ हजार रुपैयाँ रहेको जनाईएको छ । पुरुषतर्फ राष्ट्रिय टिमका खेलाडी बाहेक वडा भन्दा बाहिरको २ जना खेलाडी सहभागी गराउन मिल्ने आयोजकले जनाएको छ । भलिबल खेलमा उत्कृष्ट खेलाडीका लागि पुरस्कारको व्यवस्था समेत गरिएको छ। फागुन १३ र १४ गते अन्य विविध खेलहरु संचालन गर्ने तयारी आयोजकको छ ।
आयोजकका सचिव गनबहादुर रानाका अनुसार फागुन १५ गते राष्ट्रिय लोक गायक श्याम राना,लोक गायिका दिपिका वयम्बु लगायत स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछ भने कौरा, नाचन ( मारुनी) को विशेष प्रस्तुति रहने छ । फागुन १५ गते पृथ्वी मगर समाजद्वारा निर्माण गरिएको मगर संग्रहालयको समुदघाटन हुने समेत जनाईएको छ।
संग्रहालयको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेद्वारा समुदघाटन गरिने रानाले बताए । समुदघाटनमा नवलपुरका प्रदेश सभा सदस्यहरु, देवचुली नगरपालिकाका नगर प्रमुख, उप प्रमुख लगायतको विशेष उपस्थिति रहनेछ । मगर समुदायले प्रयोग गरेका सम्पुर्ण सामग्रीहरु संग्रहालयमा राखिने र उदघाटनपछि सो को अवलोकन गर्ने व्यवस्था मिलाईने गरि तयारी गरिएको रानाले बताए ।
तीन दिनसम्म चल्ने कार्यक्रममा मगर समुदायका खानाका परिकारका स्टलसहित अन्य स्टलहरु रहने र हरेक दिन सांस्कृतिक कार्यक्रम गरिने जनाइएको छ। कार्यक्रम संचालनका लागि ४ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने र करिब १० हजार बढीले कार्यक्रमको अवलोकन गर्ने आयोजकको आकलन छ ।

प्रतिक्रिया दिनुहोस