आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दोस्रो डुम्रेबेशी सिनियर पुरुष भलिबलको उपाधी बोक्सानलाई


  • समाचार कुञ्ज
  • २०८० फागुन ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • अमृत श्रेष्ठ,
    फागुन ३०, भिमाद । गत २६ गते देखि भिमाद नगरपालिका – १ स्थित डुम्रेवेशीमा शिवरात्रीको अवसर पारेर आयोजना गरिएको दोस्रो डुम्रेवेशी (शिवरात्री) महोत्सव २०८० एवम् साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी बोक्सानले कब्जा गरेको छ ।

    बुधबार भएको फाईनल खेलमा आयोजक डुम्रेवेशीलाई २-० को सोझो सेटमा हराउँदै वंशानले उपाधी हात पारेको हो । बिजेता वंशानले हुक्कालाई ३-२ को रोमाञ्चक सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो । बिजेता बोक्सानले नगद रु ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोस्रो, तेस्रो र चौथो हुने क्रमशः आयोजक डुम्रेवेशीले रु.३५ हजार , हुक्काले रु.२० हजार  र पिरुङले रु.१० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको कार्यक्रमका संयोजक दयाराम श्रेष्ठले जानकारी दिनुभयो । खेलमा उत्कृष्ट खेलाडी बोक्सानका अमृत गेलान, उत्कृष्ट लिफ्टर बोक्सानकै साजन थापा तथा उत्कृष्ट सटर हुक्काका संजय क्षेत्री घोषित भएका छन् । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको खेलकुद संयोजक ओम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

    डुम्रेवेशीको समृद्धि र पहिचान, हाम्रो अभियान भन्ने नारा सहित गत २४ गते देखि सुरु भएको दोस्रो डुम्रेवेशी महोत्सव – २०८० मा सांस्कृतिक कार्यक्रम २६ गते सम्म सञ्चालन भएको थियो भने २६ गते देखि भलिबल प्रतियोगिता सञ्चालनमा आएको थियो ।

    महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु रामजी पौडेल, मधु थापा मगर लगायत स्थानीय कलाकारहरुको प्रस्तुतिको साथमा लाखेनाच, नौमती बाजा, कौडा, ओम शान्ति, मगर बाजा लगायतका विभिन्न जातजातिका झाँकी प्रदर्शनीहरु पनि भएको कार्यक्रम संयोजक दयाराम श्रेष्ठले बताउनुभयो । यस्तै स्थानीय उत्पादनमा तरकारी तथा फलफुलहरु, विभिन्न धातुबाट बनेका कृषि औजारहरु, माटोबाट बनेका पाला, कराई, घैँटो लगायतका स्थानीय उत्पादित सामाग्रीहरु पनि प्रदर्शन भएको थियो । विशेष गरी चापाकोट एवम् पाल्पामा उत्पादित नेवारी समुदायको चाकु (गुण) सबैको रोजाईमा परेको पनि उहाँले बताउनुभयो ।

    झण्डै एक हप्ता सम्म चलेको कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि एवम् नेपाली काङ्ग्रेस भिमाद नगर सभापति अर्विन श्रेष्ठले स्थानीय खेलाडिको प्रतिभाहरुलाई उजागर गर्न र उचित मुल्याङ्कन गर्न हरेक संघ संस्थाले यस्तै किसिमका खेलकुद कार्यक्रमहरु आयोजना गरिरहनुपर्ने बताउनुभयो ।

    स्थानीय प्रतिष्ठित खेलाडि स्वर्गीय बिजय थापालाई स्मरण गर्दै बिजय जस्ता प्रतिभावान स्थानीय खेलाडिहरु एकसय एक यही गाउँठाउँमा रहेता पनि प्रतिभा प्रस्फुटन गर्ने उचित मौका र स्थान नपाउँदा खेलाडिहरु गाउँ टोलमै सिमित हुनुपरेको उहाँले बताउनुभयो ।

    समापन समारोहका सभापति एवम् महोत्सवका संयोजक दयाराम श्रेष्ठले महोत्सवलाई सभ्य र नमुना बनाउन पहल गर्नुहुने सम्पुर्णमा आभार प्रकट गर्नुभयो । “यसरी नै सबैको साथ समर्थन र हातेमालो गर्दै अगाडि बढ्ने हो भने यो भन्दा उत्कृष्ट कार्यक्रमहरु आयोजना गरी स्थानीय उत्पादनलाई देश विदेश निर्यात गर्ने वातावरण सिर्जना गर्न सकिन्छ ” उहाँले भन्नुभयो । भिमाद नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिपक आले, नेपाल तरुण तनहुँ जिल्ला सदस्य द्वय ईश्वर न्यौपाने र गोविन्द मल्ल लगायतको आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको श्रेष्ठले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट