
समाचार कुञ्ज देवचुली । देवचुली नगरपालिका वडा नम्बर ६ मा संचालन भएको तेस्रो उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि देवचुली ७ ले जितेको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद विकास समिति देवचुली ६ र सगरमाथा युवा क्लबको सह-आयोजनामा देवचुली-६ कुमसोतमा रहेको मैदानमा बैशाख २९ गतेदेखि सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । प्रतियोगिताको पुरुष तर्फ भएको फाइनल खेलमा देवचुली-१६ लाई हराउँदै देवचुली-७ ले उपाधी जितेको हो भने महिलातर्फ कालिका माविलाई हराउँदै वरचुली माविले उपाधी जितेको हो ।प्रतियोगितामा पुरुषतर्फ बिजेता भएको देवचुली-७ ले नगद ४० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता भएको देवचुली-१६ ले नगद २५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यसै गरि महिलातर्फ प्रथम भएको वरचुली माविले नगद १३ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता कालिका माविले नगद ७ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको हो । प्रतियोगितामा पुरुष तर्फ १२ टिमको सहभागिता रहेको देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो ।देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईको अध्यक्षता भएको प्रतियोगिता समापन समारोहमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-६ का वडा अध्यक्ष मिनबहादुर सोती मगर, विभिन्न संघसंस्थाका प्रतिनिधि, देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरु, वडा युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरु लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस