आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

प्रथम बाँझोबारी भलिबल प्रतियोगिता आज देखि सुरू


  • समाचार कुञ्ज
  • २०८३ भाद्र ३०, मंगलबार मा प्रकाशित १ महिना अघि
  • २७ पाठक संख्या
  • बाँझोबारी, ३० भदौ ।

    बाँझोबारी युवा क्लबको आयोजनामा प्रथम बाँझोबारी भलिबल प्रतियोगिता २०८३ को उद्घाटन समारोह सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा जनप्रतिनिधि, व्यवसायी, समाजसेवी, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

    श्री बाँझोबारी युवा क्लबका अध्यक्ष लक्ष्मण सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा व्यवसायी तथा दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    कार्यक्रममा बौदिकाली गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, बौदिकाली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तेज बहादुर थापा, समाजसेवी डिल्लीराम राना, बौदिकाली गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण खत्री, स्वास्थ्य शाखा प्रमुख मेघ बहादुर ठाडा, डेढगाउँ प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादव तथा बौदिकाली होटल व्यवसाय संघका अध्यक्ष नारायण श्रेष्ठलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

    उद्घाटन समारोहमा अतिथिहरूले प्रतियोगिताको सफलताको शुभकामना दिँदै खेलकुदले युवाको क्षमता विकास, अनुशासन, स्वास्थ्य तथा आपसी भाइचारा अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान र विकासमा समेत योगदान पुर्‍याउने धारणा व्यक्त गरिएको थियो।

    प्रतियोगितामा प्रथम हुने टोलीले नगद ७० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीले ४० हजार रुपैयाँ तथा तृतीय हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

    कार्यक्रम श्री विजय रसाइलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन श्री विक्रम रसाइली र प्रदिप गहजरात गर्नुभएको थियो।

    बाँझोबारी युवा क्लबले प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण अतिथि, खेलाडी, स्थानीयवासी तथा शुभेच्छुकप्रति आयोजकको तर्फबाट धन्यवाद व्यक्त गरेको छ।

    स्थानीयस्तरमा पहिलोपटक आयोजना गरिएको भलिबल प्रतियोगिताले युवाबीच खेलकुदको माध्यमबाट सहकार्य, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने अपेक्षा आयोजकले गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑